‘कुलिङ पिरियड’ हटाउन सचिवहरूले संयुक्त राजीनामाको धम्की दिएको एकीकृत समाजवादीको दाबी

असार ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘कुलिङ पिरियड’ हटाउन सचिवहरूले संयुक्त राजीनामाको धम्की दिएको एकीकृत समाजवादीको दाबी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले संघीय निजामति सेवा विधेयकमा प्रस्तावित ‘कुलिङ पिरियड’ प्रावधान हटाउन केही सचिवहरूले संयुक्त राजीनामाको चेतावनी दिँदै सरकारमाथि दबाब दिएको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पाण्डेले कर्मचारीहरूको धम्कीका कारण सरकारले निजामति विधेयक अघि नसारेको दाबी गर्नुभयो । उहाँले खुट्टा नकमाइकन सरकारलाई विधेयक अविलम्व संसद्मा प्रस्तुत गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘केही कर्मचारीहरूले संघीय निजामति विधेयकमा प्रस्ताव गरिएको कुलिङ पिरियड खारेज गराउनको लागि संयुक्त राजीनामा दिन्छौँ भनेर धम्किपूर्ण व्यवहार गर्दै यो विधेयक ल्याउनको लागि रोकावट भइरहेको कुरा मैले सुनेको छु । सभामुख महोदय, सरकारले खुट्टा नकमाओस् । तुरून्त ल्याओस् । २५ जना सचिवहरूले राजीनामा दिन्छन् भने नयाँ सहसचिवहरूले काम पाउँछन् । धम्किको भरमा यस्ता नीति निर्माण गर्न दिनु हुन्न ।’

गत मंगलबारको कार्यसूचीमा परेर पनि रोकिएको संघीय निजामती सेवा विधेयक सरकारले केही दिन रोक्ने निर्णय गरेको सुनिएको छ । निजामती सेवा विधेयकमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीको हकमा अवकाशपछि ‘कुलिङ पिरियड’ लागू हुने प्रावधान राखेको छ । 

जसअनुसार राजीनामा वा अवकाश पाएपछि सरकारी कर्मचारीले २ वर्षसम्म संवैधानिक वा अन्य नियुक्त पाउँदैनन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.