काठमाडौं । संघीय निजामती विधेयक कार्यसूचीमा राखेर पनि हटाइएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् । उनीहरूले विधेयक तत्काल अघि बढाउन माग गरेका छन् ।
प्रतिनिधि सभाको बिहिबार बसेको बैठकमा विपक्षी दलका सांसदहरूले गत मंगलबारको बैठकको कार्यसूचीमा राखेर पनि संघीय निजामती विधेयकमाथि छलफल र पारित गर्ने प्रस्ताव हटाउनुको कारणबारे सरकारसँग जवाफ माग गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको भनाइ र व्यवहार फरक परेको भन्दै आपत्ति जनाउनुभयो । यस्तै नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले कर्मचारीहरूले धम्की दिएपछि सरकार झुक्न खोजेको आरोप लगाउनुभयो ।
बैठकमा अन्य सांसदहरूले पनि निजामती सेवा विधेयकलाई कार्यसूचीमा नराखेको भन्दै सरकारको आलोचना गरेका छन् । कानुन निर्माण प्रक्रियामा सरकारले नै अवरोध सिर्जना गरेको उनीहरूको आरोप छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्न माग गर्दै आज पनि विरोध जारी राखेको छ ।
विपक्षी रास्वपाको विरोधकै बीच प्रतिनिधि सभामा आजदेखि बजेटको मन्त्रालय छलफल सुरू भएको छ । छलफलमा भाग लिँदै सांसद अमरेशकुमार सिंहले कानुनमन्त्रीको कल डिटेल परीक्षण गर्न माग गर्नुभयो ।
नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले भौतिक मन्त्रालयको बजेट उल्टो भएको भन्दै बजेट पुस्तिका नै च्यातिदिनुभयो । नेकपा माओवादी केन्द्रका सांसद जर्नादन शर्माले बजेटले अहिलेको समस्या समाधान गर्न नसक्ने भएकाले पुनर्लेखन गर्न माग गर्नुभयो ।