काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी– रास्वपाका सांसद मनिष झाले उपसभामुखले अमेरिकी राजदूतावासलाई लेखेको पत्र र भिजिट भिषा प्रकरण एकै नभएको बताउनुभएको छ ।
बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद झाले उपसभामुखले लेखेको पत्र संसद् परिसरभन्दा बाहिर नै ननिस्किएको र उपसभामुखले तत्काल गल्ती स्वीकार गरेर आगामी दिनमा यस्तो नहुने प्रतिबद्धता गरेको स्मरण गराउनु भयो ।
उहाँले हाल भिजिट भिसा प्रकरणमा गृहमन्त्री तानिँदा नेपाली कांग्रेसले बचाउमात्र गरेको तर कारबाहीमा सघाउने वा कारबाही गर्नुपर्छ भन्नेतर्फसमेत ध्यान नदिएको आरोप लगाउनुभयो ।
सम्बन्धित निकायमा दर्तासमेत नभएको पत्रका विषयमा रास्वपा छानबिनमा सघाउन तयार भएपनि भिजिट भिसा प्रकरणमा कांग्रेसले त्यसो गर्नसमेत नचाहेको उहाँको दाबी छ ।
उपसभामुख बनेसँगै साधारण सदस्यसमेत नरहने व्यवस्था भएपनि रास्वपाले अनुसन्धानमा सघाउने प्रतिबद्धता व्यक्त गरेको उहाँले स्मरण गराउनु भयो ।