काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने विषयलाई लिएर टिप्पणी गर्नुभएको छ ।
आइतबार काठमाडौंमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले महाधिवेशनको मिति नै घोषणा नभएको बेलामा भ्रमको पछि नलाग्न आग्रह गर्नुभएको हो ।
पूर्वराष्ट्रपति भण्डारी पार्टीको जिम्मेवारीमा फर्किने समाचार बाहिरिरहेको बेलामा नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले फलाना आउने अरे भन्दै फिँजाइएका भ्रममा विश्वास नगर्न आग्रह गर्नुभयो ।
उहाँले गुट नै बनिसके भन्दै प्रचार गरिएको उल्लेख गर्दै गुटको कुरा गर्नेहरुको प्रतिकार गर्न निर्देशन दिनुभयो । पूर्वराष्ट्रपति भण्डारीको बारेमा पार्टीमा कुनै छलफल नै नभएको बताउँदै महाधिवेशन घोषणा पनि नभएको र महाधिवेशनमा के गर्ने भन्ने सरसल्लाह नै नभएको जिकिर गर्नुभयो ।
बाहिर भ्रम फिँजाएर पार्टीलाई कमजोर बनाउने र पार्टी कार्यकताको मनस्थिति बिथोल्ने काम भइरहेको भन्दै यस्ता दुष्प्रयासलाई सोझै इन्कार गर्न उहाँले निर्देशन दिनुभयो ।
प्रधानमनत्री ओलीले पार्टीका आन्तरिक कुरा भए पार्टीभित्र गर्न र सामाजिक सञ्जालबाट पार्टीलाई खुइल्याउने, होच्याउने, अपमान गर्ने काम नगर्न चेतावनी दिनुभयो ।