काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले समाजवाद घोषणा गर्न अब ढिला गर्न नहुने बताउनुभएको छ ।
आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा समाजवाद घोषणा गर्ने समय भइसकेको बताउनु भयो ।
उहाँले समाजवादको बाटोमा हिँडे मात्रै समृद्ध बन्न सकिने जिकिर गर्नुभयो । अरू बाटोबाट हिँडे मुलुक गरिब र नेताहरू त्यही गरिब जनतालाई ठग्ने भन्दा अरू नहुने उहाँकाे भनाइ छ ।
उहाँले भ्रष्टाचार नगरी नेता नबाच्ने, चुनाव नजित्ने र राज्यलाई धोका दिनै पर्छ भन्ने बाटोमा मुलुक रहेको बताउँदै त्यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा केही कुराको अभाव नरहेको बताउँदै समाजवादको बाटोमा अगाडी बढ्ने काम गर्नुपर्ने बताउनु भयो ।
उहाँले संविधानमा समाजवाद लेखिएपनि कार्यान्वयन नभएको भन्दै आपत्ति जनाउनु भयो ।