पुष्पकमल दाहाललाई सूर्य थापाको कटाक्ष - कति वटा जिब्रो भएका ? कति झुटो बोल्न सक्ने ?

वैशाख २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
पुष्पकमल दाहाललाई सूर्य थापाको कटाक्ष - कति वटा जिब्रो भएका ? कति झुटो बोल्न सक्ने ?

काठमाडौं । नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै आजै सरकार ढल्ने खालका वक्तव्यबाजीले मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदूषण मात्रै बढ्ने काम गरेको बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उहाँले देशमा दुई ठूला दल र अन्य पार्टीहरू मिलेर पालैपालो सरकार चलाउने सहमति गरेर नीति तथा कार्यक्रम ल्याइसकेपछि पनि सरकारविरुद्धका चलखेलहरू जारी रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “आज देशमा सङ्ख्यात्मक हिसावले बलियो सरकार छ । दुई वटा ठूला पार्टी र अन्य पार्टीहरू मिलेर पालैपालो सुरुमा २४ महिना र त्यसपछि बाँकी अवधि सरकारको नेतृत्व गर्ने घोषणाका साथ सरकार बनेर सहमतिमा काम अघि बढिरहेको छ, सरकारको नीति तथा कार्यक्रम पनि आइसकेको छ । तर त्यसयता दिनहुँ सरकारविरुद्धका चलखेल जारी छन् । आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसके, अब रहँदैन जस्ता वक्तव्यबाजीहरूले मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदूषण हुने क्रम जारी छ । तर सरकार अघि बढिरहेको छ । त्यस्ता वक्तव्य र झुटो बकवासहरू निरर्थक साबित भएका छन् । त्यस्ता बोल्ने नेतृत्वलाई कति वटा जिब्रो भएका र अहोरात्र कति झुटो बोल्न सक्ने काबिल नेता मानेर कहिलेसम्म सुनिरहनुपर्ने हो, हामी नेपालीहरूले ।”

उहाँले दाहाल नेतृत्वको पछिल्लो २० महिनाको शासनमा पाकिस्तानी मोडलको अभ्यास र भ्रष्टाचारका फाइल खोल्ने हुङ्कारको हविगतलाई देखिएको समेत धारणा राख्नुभयो । उहाँले त्यति बेला कुशासनका अनेक रूप प्रकट भएको समेत आरोप लगाउनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.