काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने बताउनुभएको छ । नेपाल चलचित्र संघको ५० औं वार्षिक साधारण सभाको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले परिस्थिति बदलिएपछि ऐन, कानून बदलिनुपर्ने, परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने, परिस्थिति बदलिएपछि सिस्टम बदलिनुपर्ने बताउनु भयो । मान्छे मात्रै बदलिएर केही नहुने उहाँको जिकिर छ । उहाँले राजा महेन्द्रको पालामा बनेका कानूनका कारण विकास हुन नसकेको जिकिर गर्नुभयो ।
उहाँले आफूले सुरूमा विकास गर्ने र सुशासन कायम गर्ने मन्त्रालय (गृह वा भौतिक पूर्वाधार तथा यातायात) मागेको भएपनि प्रधानमन्त्रीको आग्रह सञ्चार मन्त्रालयमा गएको बताउनु भयो ।
उहाँले आफूले गृह मन्त्रालयको नेतृत्व गरेर अहिलेको बेथितिहरू हटाउने चाहना प्रकट गरेपनि यस पटक पूरा हुन नसकेको बताउनुभयो । मन्त्री गुरूङले सरकारले सामाजिक सञ्जाल, प्रयोग, सञ्चालन र नियमन विधेयक पेश गरेको बताउँदै यसबाट कोही पनि तर्सिन आवश्यक नरहेको बताउनुभयो ।
यसबाट कसैको पनि अभिव्यक्ति स्वतन्त्रता हनन नहुने जिकिर उहाँले गर्नुभयो । अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने दायित्व सरकारको भएको उहाँले बताउनुभयो । आफू सरकारमा आएको ९ महिनामा धेरै साइबर अपराध बढेको बताउनुभयो ।
उहाँले त्यसको नियन्त्रण गर्ने दायित्व सरकारको भएको र त्यससम्बन्धी विधेयकमा छलफल चलिरहेको बताउनुभयो । उहाँले आम सञ्चार ऐन, हुलाक सञ्चार ऐन संशोधन गर्न लागिरहेको बताउनु भयो । उहाँले नेपाललाई आइटी हबको रूपमा विकास गर्न सकिने बताउनुभयो । मन्त्री गुरूङले चलचित्र ऐन राष्ट्रिय सभामा आज टेबुल गरिने पनि उल्लेख गर्नुभयो ।