काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बस्ने औचित्य गुमाइसकेको बताउनुभएको छ ।
माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्नुको सट्टा प्रधानमन्त्री ओलीले अपमानित गरेको आरोप लगाउनुभयो । उहाँले आन्दोलनरत शिक्षकलाई अपमानित गर्न छोडेर वार्ताका लागि गम्भीर हुन पनि सरकारलाई आग्रह गर्नुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले माग पूरा नभएसम्म आन्दोलन नरोक्न शिक्षकहरुलाई सुझाव दिनुभयो । उहाँले कांग्रेस-एमाले गठबन्धन र ओली नेतृत्वको सरकार अप्राकृतिक र असंवैधानिक भएकाले आफ्नै कारणले ढल्ने दोहोर्याउनुभयो । सरकारले जनताका लागि काम गर्ने भन्दा भ्रष्टहरुलाई संरक्षण गरिरहेको आरोप उहाँको थियो ।
कार्यक्रममा अध्यक्ष दाहालले नेपालका कम्युनिस्टहरुलाई एक ठाउँमा उभिन आह्वान गर्नुभयो । कम्युनिस्ट एकताका लागि माओवादी केन्द्रले अग्रसरता लिने भएकाले अन्य दलहरु सैद्धान्तिक रुपमा तयार हुनुपर्ने उहाँको भनाइ थियो ।