काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राजनीतिक शक्तिको सहमतिमा देशलाई नयाँ समझदारी आवश्यक रहेको बताउनुभएको छ ।
काठमाडौंको बल्खुमा आज आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राजादेखि गणतन्त्रवादीसम्मका सबै शक्ति अटाउने गरी नयाँ राजनीतिक व्यवस्था गर्न आह्वान गर्नु भएको हो ।
उहाँले ५-१० वर्षभित्रै देश बन्ने र कसैले कसैलाई निषेध नगर्ने परिस्थिति निर्माण गर्नुपर्ने बताउनुभयो । अध्यक्ष लिङदेनले चैत १५ गते तीनकुनेमा राज्यका तर्फबाट नै हिंसा गरिएको आरोप लगाउँदै प्रहरी प्रमुख नै युवा संघको सहअध्यक्ष बनेको टिप्पणी गर्नुभयो ।
राप्रपा कहिल्यै पनि हिंसामा विश्वास नगर्ने उहाँको भनाइ छ । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुन:स्थापनाको मागसहित राप्रपाले विरोधसभा गरेको हो । सभा सुरु हुनुअघि 'अवस्था बदल्न, व्यवस्था बदलौं' भन्ने नारासहितको जुलुस विभिन्न स्थानबाट बल्खुको सभास्थल पुगेको थियो ।
सभास्थल आसपासका क्षेत्रहरुमा उच्च सुरक्षामा सतर्कता अपनाइएको छ । यसअघि चैत १५ गते तीनकुनेमा राप्रपासहितका नेताहरु सहभागी राजावादी समूहको प्रर्दशनमा हिंसात्मक गतिविधि, तोडफोड, आक्रमण तथा आगजनीका घटना भएकाले बल्खुको सभामा सुरक्षाको निगरानी बढाइएको छ भने २ हजार सुरक्षाकर्मीलाई तैनाथ गरिएको छ । राप्रपाले पनि स्वयंसेवक परिचालन गरेको बताएको छ ।