काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले तत्कालका लागि गणतान्त्रिक मोर्चा र शक्ति प्रदर्शन आवश्यक नभएको ठहर गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले गणतन्त्रका पक्षमा संसद् र नागरिकका अधिकांश तप्का प्रतिबद्ध रहेको भन्दै गणतन्त्रवादीले मोर्चा खडा गर्न आवश्यक नरहेको निष्कर्ष निकालेको हो ।
त्यस्तै संविधानभित्रैबाट जनताका आकांक्षा र असन्तुष्टि सम्बोधन गर्न सकिने हुँदा बैठकले संघीय गणतान्त्रिक व्यवस्थाप्रति पूर्ण प्रतिबद्ध रहने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो।
अहिले असन्तोष जाहेर गरिरहेका पार्टीलाई पनि संविधानभित्रै रहेर समाधानको प्रयास गर्न सुझाव दिने निर्णय पनि बैठकले गरेको छ । बैठकमा सरकारले प्रभावकारी ढंगले काम गर्नुपर्ने सुझाव आएको नेताहरूले बताएका छन् ।