काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र संविधान दुवै असफल भइसकेको टिप्पणी गर्नुभएको छ । आजपाको बुधबार काठमाडौंमा बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै साहले सरकार र संविधान दुवै असफल भइसकेको बताउँदै नागरिकको सर्वोच्चता सहितको व्यवस्थाका लागि पार्टीद्वारा घोषित तेस्रो जनआन्दोलन सफल बनाउन आह्वान गर्नभयो ।
“सरकार सबै मोर्चामा असफल भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहित बहुमत मन्त्रीहरू कार्यसम्पादन मूल्यांकनमा असफल भइसक्नुभएको छ । आफ्नै मूल्यांकनमा सरकार असफल भइसकेको छ । जनताको चाहना र आवश्यक्ता सम्बोधन गर्न सकेको छैन,” आजपा अध्यक्ष साहले भन्नुभयो, “हामीले घोषणा गरे अनुसार नागरिकको सर्वोच्चता सहितको तेस्रो जनआन्दोलनलाई सशक्त र सफल बनाउन सबै एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन ।”
आउँदो २४ मा आजपाले काठमाडौंमा खबरदारी सभाका साथै विरोध प्रदर्शन गर्दैछ । त्यसैको पूर्वसन्ध्यामा बसेको पदाधिकारी बैठकमा आजपा अध्यक्ष साहले आन्दोलनलाई कसरी व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढ्ने बारेमा बृहत् छलफल आवश्यक रहेको बताउनुभयो । गत वर्ष नै तेस्रो जनआन्दोलनको आह्वान गरेका साहले वर्तमान संविधान र सरकारकै कारण अहिले मुलुकमा संकट आएको टिप्पणी गर्दै अहिलेको व्यवस्थाको खारेजीका लागि तेस्रो जनआन्दोलन आवश्यक रहेको बताउनुभयो ।
नेताहरूको कुकर्मका कारण गणतन्त्र बदनाम भएको बताउदै उहाँले भ्रष्ट एवं दलाल दलतन्त्रको विरुद्ध तेस्रो जनआन्दोलनको विकल्प नभएको बताउनुभयो । दलाल दलतन्त्रको अन्त्य नै वर्तमान संकटको समाधान भएको साहले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनको निष्कर्ष रहेको छ ।
“आज दलाल दलतन्त्रले देश बेहाल छ । नेताहरूको कुकर्मले गणतन्त्र बदनाम छ । जनताको रगत पसिना चुसेर नेताहरू मोटाएका छन् । नेताका आसेपासे मालामाल छन्, जनता लाचार छन्”, आजपा अध्यक्ष साहले भन्नुभयो, “कसैको अगाडि कहिल्यै नझुकेको हाम्रो गौरवशाली इतिहास आज दलालीले पोतिँदैछ । नेपाली जनताको सपना खोसिएको छ ।”
केही गर्न विदेशै जानुपर्ने बाध्यात्मक स्थिति शासकहरूले निर्माण गरेको आरोप उहाँले लगाउनुभयो । पढ्नेदेखि रोजगारका लागि विदेशिने क्रम बढेको बताउँदै यो सबै अवस्थाको सिर्जना शासनमा रहेका नेताहरूले निर्माण गरेको आरोप उहाँको छ ।
“केही गर्नका लागि विदेशै जानुपर्ने बाध्यात्मक स्थिति निर्माण गरिएको छ । आश बोकेर विदेश जानेहरू आज लास बनेर फर्किरहेका छन् । यति मात्रै हैन आज हाम्रो अर्थतन्त्र डमाडोल छ, व्यापार घाटामा छ, नेताहरूको अत्याचार र भ्रष्टाचार बढेको छ । सुशासन सुनसान छ, विकास बिलाएको छ, कर आतंक छ, महँगी आतंक छ । हाम्रो प्राकृतिक सम्पदाहरूको खुलेआम बिक्री र दोहन भइरहेको छ । जनता दिनदिनै वैदेशिक ऋणमा थिचिँदैछन् । यी तमाम संकटको अन्त्यका लागि तपाईं हामी अगाडि आउनैपर्छ”, साहले भन्नुभयो ।
२४ चैतमा जनआन्दोलन दिवसकै दिन भ्रष्टाचार विरुद्ध खबरदारी सभा र विशेष प्रदर्शन गर्न लागेको आजपाले सरकारको मनोमानी कर आतंक, भ्रष्टाचार, अनियमितता विरुद्ध संघर्ष गर्दै आएको छ । गत वर्ष २४ चैतकै दिन आजपा अध्यक्ष साहले काठमाडौंको भृकुटीमण्डपबाट दलाल दलतन्त्रको विरुद्ध तेस्रो जनआन्दोलनको घोषणा गरेका थिए ।