झापा । नेपाली कांग्रेस समर्थक पूर्व आप्रवासीहरूको विर्तामोड भेलाले विदेश बसेर फर्केकाहरूलाई समेटेर छुट्टै भातृसंगठन गठनका लागि नेतृत्वसमक्ष दबाब बढाएको छ ।
शनिबार र आइतबार झापाको विर्तामोडमा भेला भएका पूर्व आप्रवासीहरूले विदेशको सीप र श्रमलाई नेपालमै सदुपयोग गर्न आफूहरू इच्छुक रहे पनि नीतिगत व्यवधानका कारण समस्या झेल्नुपरेको गुनासो पोखे ।
विदेशदेखि स्वदेशसम्म नारा दिइएको प्रदेशस्तरीय भेलालाई नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालासहित करिब आधा दर्जन केन्द्रीय नेताले सम्बोधन गर्नुभएको थियो ।
भेलामा सहभागी केही नेताले विदेश बसेर फर्केकाहरूको सीप र लगानीलाई सही तरिकाले प्रयोग गर्न सके देश कायापलट हुने सुझाब दिए । विदेश बसेर फर्केका पूर्व आप्रवासीहरूको तथ्यांक संकलन गरी लगानीमैत्री वातावरण सिर्जना गर्न भन्दै नेपाली कांग्रेसको पूर्व आप्रवासी समन्वय विभागले सबै प्रदेशमा भेला आयोजना गर्दै आएको छ ।
अहिलेसम्म मधेस र सुदूरपश्चिमबाहेक सबै प्रदेशको भेला सकिएको विभागले जनाएको छ ।