राष्ट्रियसभाका सांसदहरुको जोड- नेताहरुको कार्यशैली सुधार हुनुपर्छ

फाल्गुन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रियसभाका सांसदहरुको जोड- नेताहरुको कार्यशैली सुधार हुनुपर्छ

काठमाडौं । लोकतन्त्रमाथि भइरहेको प्रहार रोक्न राजनीतिक दल र नेताहरुले कार्यशैली सुधार गर्नुपर्नेमा राष्ट्रियसभा सदस्यले जोडदिएका छन् । उनीहरुले सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षकरुको माग पूरा गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य तथा विशेष समयमा बोल्दै सांसदहरुले देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलनमा रहेकाले विगतमा उनीहरुसँग भएका सहमति कार्यान्वयन गर्न र शिक्षा ऐन जारी गर्न माग गरे । नेकपा एमालेका सांसद राजेन्द्रलक्ष्मी गैरेले शिक्षालाई चाहिने आधारभूत काम पनि सरकारले नगरेको बताउनु भयो । 

यस्तै, सांसदहरुले अहिले लोकतन्त्रप्रति प्रहार भइरहेकाले कार्यशैली सच्याउन राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराएका छन् । एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहराले भन्नुभयो, 'नेताहरुले समयमै कार्यशैली नसच्याए देशमा ठूलो समस्या आउँछ ।

सांसदहरुले देशका विभिन्न भागमा दलित समुदायप्रति उत्पीडनका घटना बढेको भन्दै प्राथमिकताका साथ कारबाही गर्न सरकारसँग माग गरे । उनीहरुले सिरहाकी रिंकु सदाको बलात्कारपछि भएको मृत्यु र पञ्चायती बसेर मिलापत्र गर्नेहरुलाई कारबाही गर्न, पीडितलाई न्याय र क्षतिपूर्ति दिन माग गरेका हुन् । यस्तै, निकुन्ज क्षेत्रका नागरिक जंगली जनावरबाट पीडित भएको भन्दै तारजालीको व्यवस्था गर्न पनि सांसदहरुले माग गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement