संसद्लाई प्रभावकारी बनाउन सभामुखले गरेको छलफलमा अध्यादेशकै विषय केन्द्रमा

सत्तापक्षले बचाउ गर्दा विपक्षीको विरोध, संसद् बैठक प्रभावित हुने संकेत
माघ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
संसद्लाई प्रभावकारी बनाउन सभामुखले गरेको छलफलमा अध्यादेशकै विषय केन्द्रमा

काठमाडौं । संघीय संसद्को माघ १८ गते सुरू हुने विधेयक अधिवेशनलाई व्यवस्थित गर्ने र कानुन निर्माणलाई तीव्रता दिने विषयमा सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल सुरू गर्नुभएको छ । सभामुख घिमिरेले आज सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग सदनलाई परिणाममुखी बनाउने विषयमा परामर्श गर्नुभएको हो ।

सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेसँगको छलफलमा सभामुखले सदनलाई विना अवरोध काम गर्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभएको थियो । समितिमा विचाराधीन विधेयकलाई निष्कर्षमा पुर्याउन आग्रह गर्दै उहाँले सदनमा प्रतिवेदन तयार भएर पेश भइसकेको संवैधानिक परिषद् र मर्यादाक्रमसँग सम्बन्धित विधेयकमा सत्तापक्षका सांसदहरूसँग धारणा माग गर्नुभएको थियो । सभामुखसँगको छलफलमा कांग्रेस र एमालेका सचेतकहरुले सदनलाई गतिशील बनाउन सक्रियताका साथ लाग्ने प्रतिबद्धता जनाएका थिए ।

संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक प्रतिनिधि सभामा पेश भएको छ । तर छलफल हुन बाँकी छ । समितिले पास गरेको प्रतिवेदनमा परिषद् अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्यहरू उपस्थित भएमा बैठक बस्न सक्ने व्यवस्था छ । प्रधानमन्त्रीको अधिकारमा थप स्पष्टता जरुरी रहेको धारणा राख्दै आएको एमालेले यो विषयमा छलफल अगाडि बढाउने र केही परिवर्तन भए सदनबाटै हुन्छ भन्ने पक्षमा देखिएपछि अब सदनमा अगाडि बढ्ने देखिएको छ ।

सभामुख घिमिरले विपक्षी दलका प्रमुख सचेतकसँग पनि आजै छलफल गर्नुभयो । विपक्षीले भने सरकार सदनप्रति गम्भीर नदेखिएको भन्दै संसद्‌मा विचाराधीन विधेयककै विषयमा अध्यादेश ल्याउनु त्रुटीपूर्ण भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

सभामुखसँगको छलफलमा सत्ता पक्षका नेताहरूले संसद् अधिवेशन सुरू हुँदा प्रधानमन्त्रीले पहिलो बैठकमै सम्बोधन गर्ने जानकारी गराएका थिए । प्रधानमन्त्रीले विचाराधीन विधेयकहरूलाई छिटो समितिबाट अगाडि नबढाउँदा समस्या भएको भन्दै त्यसतर्फ गम्भीर हुन आग्रह गर्नुभएको पनि एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

सभामुखले भोलि मुख्य दलका प्रमुख सचेतकसँग छलफल गर्नुहुनेछ भने पर्सि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement