काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदन सञ्चानलका सम्बन्धमा सत्तारुढ दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नु भएको छ । सभामुख घिमिरेले सत्तारुढ दलका प्रमुख सचेतकहरुसँग अहिले विचाराधीन विधेयकका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा जानकारी लिनुभएको छ ।
उहाँले छलफल सकिएपछि पनि अगाडि नबढेको संवैधानिक परिषद् सम्बन्धी विधेयक, मर्यादाक्रम सन्दर्भमा बनेका विधेयकका विषयमा समेत जानकारी लिनुभएको छ । नेकपा एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकसँग अहिले समितिमा विचाराधीन विधेयकलाई तत्काल निष्कर्षमा पुग्ने वातावरण बनाउन सभामुख घिमिरेले आग्रह गर्नुभएको छ ।
सदनको समग्र तयारीका सन्दर्भमा भएको छलफलमा माघ १८ गते बस्ने पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्ने विषय पनि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखलाई जानकारी गराउनुभएको छ ।
आगामी अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल थाल्नु भएका सभामुखले आजै प्रमुख प्रतिपक्षीसहितका विपक्षीदलहरुसँग छलफल गर्दैहुनुहुन्छ । भोलि प्रमुख दलका सचेतकसँग छलफल गर्ने र १५ गते कार्यव्यवस्था परामर्श समितिको बैठक राख्ने तय भएको छ ।