संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ, संसद्कोे अधिकार कटौती गरेको होइन : उपमहासचिव ज्ञवाली

पुस २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ, संसद्कोे अधिकार कटौती गरेको होइन : उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद्को अधिवेशन नचलिरहेको बेलामा सरकारले अध्यादेश ल्याउनसक्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरुको व्यवस्था गरेको उल्लेख गर्दै अधिवेशन सुचारु नभएको बेलामा अध्यादेश ल्याउनसक्ने बताउनु भयो । उहाँले अध्यादेश ल्याउने कुरालाई संसदको अधिकार कटौती गरेको भनेर बुझ्न नहुने स्पष्ट पार्नुभयो ।

उपमहासचिव ज्ञवालीले सदनको पहिलो बैठकमै अध्यादेशहरु पेस हुने र पारित नभए स्वतः निष्क्रिय हुने बताउनु भयो । उहाँले कानुन बनाउन पाँच वर्षसम्म लाग्ने स्थिति रहेको बेलामा र संसद् पनि नचलेको समयमा अध्यादेश ल्याएको कुरालाई संसदको अवज्ञा भन्न नहुने बताउनु भयो । अध्यादेश संसदलाई अवज्ञा गर्नेगरी नभई आवश्यकताको महशुस गरेर ल्याइएको बताउनु भयो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरुको व्यवस्था गरेको छ । सरकारले संसदको अधिवेशन नचलिरहेको बेला अध्यादेश ल्याउनसक्छ । पार्ल्यामेन्टको अधिकारलाई कटौती गरेको होइन ।'

उपमहासचिव ज्ञवालीले दलहरुमाथि हुने प्रहारले लोकतन्त्रलाई कमजोर बनाउने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement