काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो पाँच वर्षमा कृषि अनुदान बापत एक खर्ब सात अर्बभन्दा बढी रकम वितरण गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म एक खर्ब सात अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ कृषि अनुदानमा खर्च भएको जानकारी दिनुभएको हो ।
उहाँले यस अवधिमा मन्त्रालयबाट अनुदान लैजाने कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूको नाम समेत सार्वजनिक गर्नुभएको छ । कृषि अनुदानको रकम दुरुपयोग भएको भन्दै आलोचना भएपछि अध्ययन गर्न मन्त्रालयले गत कात्तिकमा सहसचिवको नेतृत्वमा समिति गठन गरेको थियो ।
मन्त्री अधिकारीका अनुसार यस अवधिमा प्रत्यक्ष अनुदानतर्फ कृषि सहकारी तथा समूहहरूले २० अर्ब ३० करोड रुपैयाँ लगेका छन् भने अप्रत्यक्षतर्फ ८७ अर्ब ३५ करोड रुपैयाँ अनुदानमा वितरण भएको छ ।
मन्त्री अधिकारीले अनुदान रकमको प्रयोगका बारेमा खोज्न र जान्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले प्रदेश र स्थानीय सरकारलाई पनि कृषि अनुदान लैजाने संघ/संस्था, सहकारी र व्यक्तिको नाम सार्वजनिक गर्न अपिल गर्नुभएको छ । यस्तै विगतमा ‘फेजआउट’ भएका परियोजना मार्फत् पनि अनुदान रकम प्रवाह भएको उल्लेख गर्दै मन्त्री अधिकारीले त्यसको विवरण पनि चाँडै सार्वजनिक गरिने प्रतिबद्धता जनाउनुभएको छ ।