कास्की । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन गरेर सरकार चलाउने संस्कार नेपालको सन्दर्भमा फिट नभएको भन्दै निर्वाचन प्रणाली बदल्न संविधान संशोधन गर्न खोजिएको बताउनुभएको छ ।
पोखरामा आज गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले स्थिर सरकार चलाउन अहिलेको निर्वाचन प्रणाली नै बाधक भएको भन्दै चुनावमा लोकप्रिय मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी कानुनी व्यवस्था गर्न संविधान संशोधन गरिने धारणा राख्नुभएको हो ।
अहिलेको संवैधानिक व्यवस्था अनुसार बहुमत नपाउँदा अर्को दलसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै जुन नेपालको सन्दर्भमा फिट नभएको बताउनुभयो । 'गठबन्धनको तितो अनुभव हामीसँग छ । प्रधानमन्त्रीले हरेक १० दिनमा यो सरकार बदलिँदैन भन्नु परेको छ । हाम्रो सन्दर्भमा यो फिट भएन,' महामन्त्री थापाले भन्नुभयो, 'त्यसैले अब जुन पार्टीले लोकप्रिय मत पाएको छ उसले ५ वर्ष सरकार चलाउन पाउनुपर्छ ।'
महामन्त्री थापाले अहिलेको संविधानअनुसार संघीय र प्रदेशको मन्त्रिमण्डल ठूलो भएकाले मन्त्रीको संख्या घटाउनुपर्ने धारणा राख्नुभयो । फरक प्रसंगमा कुरा गर्दै महामन्त्री थापाले कानुनी शासनमा कोही कसैले ठगी र बदमासी गरे प्रहरीले पाता फर्काएर लैजानु पर्ने बताउनुभयो । उहाँले सहकारी ठगीमा कांग्रेस नेता संलग्न देखिए आफूले यसै गरी पाता फर्काएर लैजान गृहमन्त्री र प्रधानमन्त्रीसमक्ष भनिरहेको बताउनुभयो ।