परम्परागत युद्धकला र गाथाहरूलाई जोगाइराखेको भुवा पर्व

कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्साहजनक रूपमा मनाइँदै
पुस २०, २०८१ |प्रेम रौले|वसन्तप्रताप सिंह|हरिश्चन्द्र बाग
परम्परागत युद्धकला र गाथाहरूलाई जोगाइराखेको भुवा पर्व

कञ्चनपुर । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भुवा पर्वको रौनक छ । भुवा पर्व प्रत्येक वर्ष पुसे औंसीदेखि सुरू हुन्छ ।

द्वापरयुगमा पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुशियाली मनाएको दिनलाई स्मरण गर्दै विभिन्न स्थानमा भुवा खेल्ने गरिन्छ ।

सामाजिक एकता, सद्भाव र विजयको प्रतीकका रूपमा मनाइने भुवा पर्व विशेष गरी सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम, डोटी तथा कर्णाली प्रदेशका मुगु, जुम्ला, हुम्ला र कालिकोटका बासिन्दाहरूले भव्य रूपमा मनाउँछन् । पछिल्लो समय सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा पनि यो पर्व मनाउन थालिएको छ । यसका अतिरिक्त त्यहाँबाट बसाइँ सरी तराईका जिल्ला तथा काठमाडौं उपत्यका र प्रवासमा रहेका व्यक्तिहरूले पनि एकजुट भएर भुवा पर्व मनाउने गर्दछन् ।

भुवा पर्व महाभारत र रामायणका कथाहरूमा केन्द्रित छ । पाण्डव-कौरव र राम-रावण युद्धको ऐतिहासिक स्मरणका रूपमा यो पर्व मनाइन्छ । युद्ध जितेपछि मनाइएको विजयोत्सवको झल्को दिने यो पर्वले परम्परागत युद्धकला र गाथाहरूलाई जोगाइराखेको छ ।

जात, धर्म र वर्गले बाँडिएको समाजलाई एकताको सूत्रमा बााध्न भुवा पर्वले महत्त्वपूर्ण भूमिका खेल्दछ । यो पर्वले भेदभाव हटाउँदै आपसी सद्भाव, मेलमिलाप र भाइचाराको भावना जागृत गराउँछ । गाउँमा जातीय विविधता भए पनि भुवा पर्वले सबैलाई समानताको अनुभूति गराउँछ । पुसे औंसीको राति भुवाखाडोमा आगो बालेर सुरू हुने यो पर्वमा युद्धकालीन कौशल झल्काउने झाँकी प्रदर्शन, मागल गीत र भुवा चाली नाच जस्ता गतिविधि गरिन्छन् ।

यस्तै दमाहाको तालमा ढाल, तरबार र खुकुरी नचाउँदै युद्धकला प्रदर्शन गरिन्छ । एक गाउँका मानिसहरू अर्को गाउँमा पुगेर नाचगान गर्दै मेलमिलाप आदानप्रदान गरिन्छ ।

पहिले पुरुष प्रधान मानिने यो पर्वमा पछिल्ला वर्षहरूमा महिलाहरूको सक्रिय सहभागिता बढेको छ । नाचगान र झाँकीमा महिला सहभागिताले यस पर्वको रौनक थपेको छ । भुवा पर्वले समुदायलाई एकताको सूत्रमा बाँध्ने मात्र होइन, परम्परागत सभ्यता र सांस्कृतिक विविधतालाई पनि जीवन्त राख्छ । पर्वका बेला जिल्ला बाहिर वा विदेशमा रहेका मानिसहरू पनि घर फर्किन्छन् । यस किसिमका पर्वहरूको संरक्षण र प्रवर्द्धनका लागि सुदूरपश्चिम विश्वविद्यालयले पनि अग्रसरता देखाएको छ ।

भुवा पर्वले परम्परागत युद्धकलाको संरक्षण, सांस्कृतिक चेतना प्रवर्द्धन र सामाजिक मेलमिलापको सन्देश प्रवाह गर्न भूमिका खेल्दै आएको छ । यसरी भुवा पर्व सुदूरपश्चिम र कर्णालीको सांस्कृतिक पहिचान मात्र होइन, सामाजिक सद्भावको एक अनुपम उदाहरण पनि हो ।


Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।

Image

वसन्तप्रताप सिंह

सिंह कान्तिपुर टेलिभिजनका बझाङ संवाददाता हुन् ।

Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement