काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक तहमा स्वच्छता कायम हुन जरुरी रहेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले देशको स्थिति अलि गम्भीर र जटिल अवस्थामा रहेको बताउनु भयो ।
अध्यक्ष दाहालले देशमा राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम हुनुपर्ने बताउनु भयो । राजनीतिमा राम्रो नियत र निष्ठाका साथ काम गर्ने संस्कार बसेन भने सबैतिर त्यसको नकारात्मक असर पर्ने उहाँको भनाइ छ । राजनीति नीतिहरुको राजा भएकाले राजनीति सफा हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘देशमा राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम भएन, राम्रो नियत र निष्ठाका साथ काम गर्ने संस्कार बसेन भने सबैतिर त्यसको नकारात्मक असर पर्छ । राजनीति नीतिहरुको राजा हो भनिन्छ । त्यसकारण राजनीति सही नियतअनुसार अघि बढेन भने त्यसको नकारात्मक प्रभाव चौतर्फी पर्छ नै । हामीले त्यसको सफाइ गर्नैपर्छ ।’ सुशासन, सामाजिक न्याय र आर्थिक विकासको निम्ति सहकार्य गर्न आफू तयार रहेको उहाँले बताउनु भयो ।