लुम्बिनी प्रदेश सभा : हिउँदे अधिवेशनको पहिलो बैठकमा केके भयो?

पुस १६, २०८१ |अमर क्षितिज भण्डारी
लुम्बिनी प्रदेश सभा : हिउँदे अधिवेशनको पहिलो बैठकमा केके भयो?

दाङ । लुम्बिनी प्रदेश सभाको पाँचौं अधिवेशन साढे ३ महिनापछि आजबाट सुरू भएको छ । पाँचौं अधिवेशनको पहिलो बैठकमा सभामुख तुलाराम घर्तीमगरले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त भएका प्रदेश सभा अधिवेशन आह्वान, मन्त्रिपरिषद् पुनर्गठन, लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयक, पुनर्विचारको लागि फिर्ता गरिएका विधेयक सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।

सभामुख घर्तीले सभालाई कार्यव्यवस्था परामर्श समिति पुर्नगठन गरिएको समेत जानकारी दिनुभयो । संसदीय दलको सिफारिसको आधारमा पुर्नगठन गरिएको कार्यव्यवस्था परामर्श समितिमा तुलसीप्रसाद चौधरी, यमुना रोका तामाङ, जमुना ढकाल, निमा गिरी, इन्द्रजित थारू, मिनाकुमारी श्रेष्ठ, राजकुमार चौधरी, सुमन शर्मा रायमाझी, हेमा वेल्वासे, भण्डारीलाल अहिर सदस्य रहनुभएको छ ।

बैठकमा बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाम्भने गरी प्रतिनिधि सभा सदस्यले छलफल चलाएको भन्दै प्रदेश सभामा सो विषयले प्रवेश पाएको छ , नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारू र नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक राजकुमार चौधरीले संविधान विरोधी गतिविधि भइरहेको प्रति प्रदेश सभा र सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्यहरूले जनतामा आशा बनाइराख्ने गरी सबैले संवेदनशील भएर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । निरासाको खेतीले कसैलाई पनि फाइदा नगर्ने भन्दै आशा जगाउनेतर्फ ध्यान दिनुपर्नेमा प्रदेश सभा सदस्यहरूले जोड दिएका छन् । नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले एमाले र कांग्रेस नेतृत्वमा सरकार बनेपछि नागरिकमा आशाको सञ्चार भएको र त्यसलाई बचाइराख्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक जमुना ढकालले दुई ठूला दल मिलेर सरकार बन्दा जनतामा विश्वास र उत्साह थपेको बताए । यस्तै उहाँले संघीय सरकारसँग अधिकार लिन प्रदेशले भूमिका बढाउनुपर्ने समेत बताउनुभएको छ ।

सभालाई प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठ, सन्तोषकुमार पाण्डे, भगवती अधिकारी, तारा थापा, अम्बिका काफ्लेले सम्बोधन गर्दै दायित्व भुक्तानी हुनुपर्ने, स्वीकृत वार्षिक योजनाको कार्यान्वयनको गतिलाई बढाउनुपर्ने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सामाजिक मन्त्रालयमा गाभिएको र कार्यक्रम कार्यान्वयन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । पाँचौं अधिवेशनको दोस्रो बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।


Enter Kantipur TV HD
Advertisement