जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका निम्ति कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको बताउनुभएको छ ।
आइतबार बिहान जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले पटक-पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लगि बनेको बताउनुभएको हो । उहाँले सुशासन स्थापित गर्न, भ्रष्टाचार नियन्त्रण गर्नका लागि अहिलेको सरकार बनेको बताउनु भयो ।
नेता कोइरालाले संविधानमा केही सुधारहरु गर्नका लागि पनि अहिलेको सरकार बनेको र एक हप्ता यता कांग्रेस र एमालेबीच सक्रियतापूर्वक काम भइरहेको बताउनु भयो । उहाँले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरुसँग समन्वय गरेर संशोधन गरिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस र एमाले अलिअलि चलायमान भएको मैले पाएँ । त्यो राम्रो कुरा हो । अब संविधान जस्तो कुरा अन्य दलहरुसँग पनि मिलेर हामीले संविधानमा केही सुधारहरु गर्नुपर्ने हुन्छ । माओवादी, मधेसका दलहरु, रास्वपा अन्य दलहरुसँग मिलेर संविधान सुधारका कुरा गर्नुपर्छ ।'
नेता कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको बताउनु भयो । अहिलेको सरकार असफल भए देश अराजकतातिर जानेसमेत उहाँले बताउनु भयो ।