पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म माओवादी केन्द्रसँग एकता हुँदैन : नेत्रविक्रम चन्द

पुस १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म माओवादी केन्द्रसँग एकता हुँदैन : नेत्रविक्रम चन्द

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म नेकपा (माओवादी केन्द्र) सँग एकता नहुने बताउनुभएको छ । मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै महासचिव चन्दले एकताको विषयलाई गम्भीरताका साथ नलिएसम्म कुनै पनि क्रान्तिकारी शक्तिसँग एकता नहुने बताउनुभएको हो ।

उहाँले माओवादीसँगको पार्टी एकता सकियो भन्ने भ्रम फैल्याइएको भन्दै एकताका लागि गम्भीर रहेको खण्डमा पार्टी एकता हुने बताउनुभयो । उहाँले नेकपाले लिएको एकताको पहलकदमीको आवश्यकतालाई अन्य कम्युनिस्ट पार्टीहरूले गम्भीरतापूर्वक नलिएको बताउनुभयो । क्रान्तिकारीहरूको एउटा सही विचार, संगठनको ध्रुवीकरण बनाउन आफूहरू लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एकताको कुरा छ । बाहिरबाट हल्ला के भएको छ भने माओवादीसँगको एकता लर्बरियो रे, बन्द भयो रे, सिधियो रे भन्ने छ । त्यो कुरा होइन । हामीले भनेको कुरा के हो भने जुन गम्भीरतामा नेकपाले एकतालाई हेरेको छ र एकताको पहलकदमीको आवश्यकता ठानेको थियो, त्यो उचाइमा माओवादी केन्द्र वा अरू क्रान्तिकारी पार्टीको बीचमा गम्भीर भभएसम्म त्यो नहुँदासम्म हामीले सहकार्यलाई मोर्चा मार्फत कायम राख्दै एउटा ध्रुवीकरणतर्फ लैजाने भनेका हौं । क्रान्तिकारीहरूको एउटा सही विचार, संगठनको ध्रुवीकरण बनाउनुपर्छ भनेर लागेका हौं ।”

महासचिव चन्दले बदलिएको सन्दर्भ, जनताको चाहना, जनताको सुझाव, पार्टीले गरिरहेको राजनीतिक अभ्यासको निष्कर्षबाट निर्वाचनमा भाग लिने निर्णय गरेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement