पर्यटन क्षेत्रबाट मुलुकले अपेक्षित लाभ लिन सकेन : मन्त्री पाण्डे

पुस १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
पर्यटन क्षेत्रबाट मुलुकले अपेक्षित लाभ लिन सकेन : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रबाट मुलुकले अपेक्षित लाभ लिन नसकेको बताउनुभएको छ । नेपाल पर्यटन बोर्डको २६औं वार्षिकोत्सवमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रले स्वरोजगार र कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा न्यूनतम मात्रै योगदान गरेको बताउनुभयो ।

उहाँले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताउनुभयो । पर्यटन सम्बन्धी निकायहरूबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ छ । नेपाल आउने पर्यटकहरूलाई राम्रो स्वागत सत्कार गरे नेपालको पर्यटन प्रवर्द्धन हुने पनि मन्त्री पाण्डेको सुझाव छ ।

उहाँले भन्नुभयो, “हाम्रा सबै निकायहरू यहाँ हुनुहुन्छ । निकायहरू समन्वयात्मक ढंगले काम गर्नुस् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय कतिपय देशमा तीन वटा छ । यो तीन स्तम्भै समेटिएको छ ।”

यसैबीच सन् २०२४ मा ११ लाख ४७ हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका पर्यटन बोर्डले जनाएको छ । दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका र सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले आगमन बढेको बोर्डले जनाएको छ ।

सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement