रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ८४ को निर्वाचनमा फेरि २०६४ को झल्को आउने दाबी गर्नुभएको छ ।
८४ मा पुग्दा माओबादी केन्द्र देशकै शक्तिशाली पार्टी बन्ने उहाँको दाबी छ । रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको पार्टी प्रवेश तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले स्थानीय तहको उपनिर्वाचनले माओवादी केन्द्र देशकै शक्तिशाली पार्टी बन्ने संकेत गरेको बताउनु भयो ।
अरु पार्टीका नेता जहाँ गयो त्यहाँ कालो झन्डा देखाउने र मुर्दाबादको नारा लगाउने कार्य भईरहेको बेला आफू जहाँ गयो त्यहाँ हजारौंको संख्यामा जिन्दावादको नारा लाग्ने गरेको बताउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका दाहालले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारलाई अप्राकृतिकको संज्ञा दिनुभयो । नाफामा गएका संस्थाहरुलाई निजीकरण गर्ने वा विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई सताउनेतर्फ सरकार उद्धत रहेको उहाँको आरोप छ ।