संविधान संशोधनबारे काठमाडौंमा बहस : कसले के भने ?

मंसिर २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
संविधान संशोधनबारे काठमाडौंमा बहस : कसले के भने ?

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने समय भइनसकेको बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित 'संविधान संशोधन : अग्रगमन कि पश्चगामी' विषयक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कार्कीले संविधान संशोधन गर्न सकिए पनि ९ वर्षमै संशोधन गर्ने बेला नभएको बताउनु भयो । संविधान संशोधनको बेला नभइ उपयोगको बेला भएको उहाँको जिकिर छ । अहिलेको संविधानले नसकिए अन्य कुनै पनि संविधानले देश विकास गर्न नसक्ने कार्कीको धारणा छ ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अहिलेको उपलब्धिलाई थप बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । संविधान सहमतिको दस्ताबेज भएकाले जनताको अधिकार स्थापित गर्नका लागि सबैको सहमतिमा संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो ।

तर, सत्तारुढ दलका सांसदहरुले भने बहुलवादी संस्कृतिलाई निषेध गर्ने उद्देश्यबाट संविधान संशोधन गर्न नलागिएको प्रष्ट्याएका थिए । नेपाली कांग्रेसका नेता एनपी साउदले संविधानमा राजनीतिक पक्षमा प्रभाव देखिए पनि विधिका हिसाबले संविधान परिपूर्ण हुन नसकेकाले विभिन्न प्रश्न उठेको बताउनुभयो ।

एमाले नेता विन्दा पाण्डेले हालको जनादेश संविधान संशोधन गर्ने नभएको बताउनु भयो । उहाँले आगामी निर्वाचनबाट यसलाई दस्तावेजीकरण गर्नुपर्ने पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले संविधान पूर्ण समानताको आधारमा नभएको जिकिर गर्दे संशोधनमार्फत अधिकार उपलब्ध गराउनु पर्ने बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले संविधान संशोधन गठबन्धनको राजनीतिक एजेन्डा मात्रै नबनाउन सुझाव दिनुभयो । अग्रगामी सोचका साथमा संविधान संशोधनका लागि आफूहरु पनि तयार रहेको उहाँको जिकिर छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement