काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारी सिफारिस गर्न गठित समितिले छनोट सूचीमा परेकाहरुको अन्तर्वार्ता सकेको छ । समितिले आजै दुई आयोगमा अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गर्ने गृहकार्य गरिरहेको छ ।
सिंहदरबारस्थित कानुन मन्त्रालयमा आज बसेको पदाधिकारी सिफारिस समितिले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिका व्यक्तिको छानबिन आयोगका लागि छनोटमा परेका ४० जनाको कार्ययोजना र अन्तरवार्ताको काम सकेको हो । सिफारिस समितिले दुई आयोगका लागि आवेदन दिएका ४० जनाको कार्ययोजना सुन्ने र अन्तरवार्ता लिने काम यही मंसिर २७ गतेदेखि सुरु गरेको थियो ।
दुई अध्यक्षका लागि ८ जना र बाँकी ८ सदस्यका लागि ३२ जनालाई सिफारिस समितिले छनोट सूचीमा राखेको थियो । तीन महिनाभित्र दुई अध्यक्ष र ८ सदस्यको सिफारिस गरिसक्ने समय पाएको समितिले पुस २ भित्र सरकारलाई सिफारिस गर्नुसक्नुपर्छ ।
पाँच जनाले दुवै आयोगका लागि निवेदन दिएका छन् भने ३ जनाले सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि मात्र निवेदन दिएका छन् । अध्यक्षमा अच्युतप्रसाद भण्डारी, काशीराज दाहाल, डिल्लीराज आचार्य, महेश थापा, विजयसिंह सिजापति, विश्वराज कोइराला, सुदिप पाठक र शेरबहादुर केसीको आवेदन परेको छ ।