धमाधम खुल्दै तारे होटेल, तर छैन अकुपेन्सी

देशमा अपेक्षित पर्यटक नभित्रिँदा लगानी जोखिममा पर्ने चिन्ता
मंसिर २९, २०८१ |भरत रावल
धमाधम खुल्दै तारे होटेल, तर छैन अकुपेन्सी

काठमाडौं । पछिल्लो एक वर्षमै देशभर साना-ठूला गरी १ दर्जनभन्दा बढी तारे होटेल सञ्चालनमा आएका छन् । जसमध्ये तीन वटा पाँचतारे र एउटा चार तारे होटेल राजधानीमै खुलेका छन् । अन्य तारे चेन होटल निर्माणकै क्रममा छन् । व्यवसायीहरुले धमाधम होटलमा लगानी गरिरहे पनि समग्र अकुपेन्सी भने ५० प्रतिशतभन्दा बढ्न सकेको छैन । किन त ?

काठमाडौंको बुढानीलकण्ठमा ठूलै प्रचारका साथ सुरु भएको होलिड इन रिसोर्टमा बिहीबारको अकुपेन्सी जम्मा २२ प्रतिशतमा सिमित रह्यो । ३ अर्ब ५७ करोड लागतमा खुलेको १ सय ४ कोठा रहेको अमेरिकी चेन होटेलमा यो सिजनको औसत अकुपेन्सी ५२ प्रतिशत मात्र छ ।

बुढानिलकण्ठ क्षेत्रमै गत भदौ २९ देखि खुलेको अर्को होटेल हो, होटेल लेमन ट्री प्रिमियम । २ अर्ब ७० करोडको लागतमा बनेको भारतीय चेन होटेल लेमन ट्रीको यो वर्षको औसत अकुपेन्सी पनि ६० प्रतिशतभन्दा बढ्न सकेन ।

पर्यटकीय सिजनमा ८० प्रतिशतसम्म अकुपेन्सी भए पनि त्रिभुवन विमानस्थल १० घण्टा बन्द भएसँगै पर्यटक आगमन घटेपछि होटलहरुमा ग्राहक आगमन स्वाट्टै घटेको छ । ४५ प्रतिशतभन्दा कम अकुपेन्सी हुँदा होटेलले सञ्चालन खर्च पनि धान्न सक्दैन । नयाँदेखि पुराना नाम चलेका होटेलसमेत पछिल्ला बर्षहरुमा ५० देखि ६० प्रतिशतको अकुपेन्सीमा चलिरहेका छन् ।

काठमाडौंकै नक्सालको चार तारे होटेल होलिडे इन एक्सप्रेसको अवस्था पनि उस्तै छ । सुरुवातमा कोठाको न्यूनतम दर एक सय डलर तोके पनि अहिले घटेर ५० देखि ६० डलरमै दिनु परेको छ ।

काठमाडौंको नक्सालमा निकै तामझामका साथ खुलेको हिल्टन होटेलमा भने एनपीएलले गर्दा अफ सिजनमा पनि अकुपेन्सी ८० प्रतिशत छ । तर कोठा भाडा भने १ सय ५० डलरबाट झरेर ७० देखि ८० डलरमै दिनु परेको सञ्चालकको भनाइ छ । पछिल्ला दिनमा धमाधम नयाँ होटेल खुले पनि पर्यटक नबढ्दा सञ्चालन खर्च धान्नै मुस्किल छ । देशभर २५ वटा पाँच तारे होटेल भए पनि तीन वटा बन्द छन् । त्यस्तै एक दर्जनभन्दा बढी तारे होटल निर्माणको चरणमा छन् ।

अहिले नै होटेलको वार्षिक क्षमता ३५ लाख नाघिसकेको व्यवसायीको दाबी छ । तर सरकारले १२ लाख पर्यटक पनि ल्याउन सकेको छैन । अपेक्षित पर्यटक नभित्रिने हो भने होटल क्षेत्रमा भएको खर्बौं लगानी जोखिममा पर्ने देखिन्छ । 


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement