विद्यार्थी विदेशिने समस्या डरलाग्दो छ : सभापति देउवा

मंसिर १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
विद्यार्थी विदेशिने समस्या डरलाग्दो छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीय शिक्षा ऐन छिटो ल्याउन पहल गर्ने बताउनुभएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको शिक्षा विभागले आयोजना गरेको शिक्षा नीति बहसबारे बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय मुलुकमा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षासम्बन्धीको ऐन ल्याउने विषयले निकै चर्चा पाएको उल्लेख गर्नुभयो । उहाँले यी तीन वटै विधेयकहरु छिटो ल्याउन कांग्रेसले पहल गर्नेसमेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो समय मुलुकमा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षासम्बन्धी ऐन ल्याउने विषयले निकै चर्चा पाएको छ । यो मुलुकको अति आवश्यकता पनि हो । यी ऐन जतिसक्दो छिटो ल्याउनका लागि पार्टीले पहल गर्ने नै छ ।'

उहाँले पछिल्लो समय कक्षा १२ उत्तिर्ण हुने बित्तिकै विद्यार्थी विदेशिने समस्या डरलाग्दो रुपमा देखिएको बताउनु भयो । उहाँले मुलुकमा सञ्चालित क्याम्पसहरु विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको बताउनु भयो । नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्य मुलुक बनाउनुपर्नेमा नेपाली विद्यार्थी नै विदेश पलायन हुनु दुःखद् भएको उहाँको भनाइ छ ।

'पछिल्लो समय कक्षा १२ उत्तिर्ण हुने बित्तिकै विद्यार्थी विदेशिने समस्या डरलाग्दो देखिएको छ,' उहाँले भन्नुभयो, 'मुलुकमा सञ्चालित क्याम्पसहरु विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको कुरा पनि आइरहेको छ । नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्यमुलुक बनाउनुपर्नेछ ।'

युवालाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई रोजगारीसँग जोड्न आवश्यक रहेको सभापति देउवाले बताउनु भयो । विद्यालय तहदेखि नै विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समयअनुसार परिवर्तन र परिमार्जन गर्न पनि आवश्यक रहेको सभापति देउवाको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.