उपनिर्वाचनको परिणामबारे प्रमुख तीन दलले के भने ?

मंसिर १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपनिर्वाचनको परिणामबारे प्रमुख तीन दलले के भने ?

काठमाडौं । यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनको परिणामलाई प्रमुख राजनीतिक दलले सन्तोषजनक भनेका छन् ।

नेपाली कांग्रेसले उपनिर्वाचनमा पहिलो दलका रूपमा जनमत प्राप्त भएको भन्दै त्यसलाई सन्तोषजनक एवं उत्साहवर्द्धक संकेतका रूपमा लिएको जनाएको छ । पार्टी महामन्त्री समेत रहेका स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति संयोजक विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै पार्टीले एक्लै लडेर प्राप्त स्थानलाई उत्साहवर्धक संकेतका रूपमा लिएको बताउनु भएको हो ।

रिक्त ४१ मध्ये १९ स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको उल्लेख गर्दै शर्माले २०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थानभन्दा एक्लै लडेर प्राप्त स्थान सङ्ख्यात्मक कम तर राजनीतिक, सांगठनिक र गुणात्मक रूपले बढी भएको दाबी गर्नु भएको छ ।

सत्ताको नेतृत्वकर्ता नेकपा एमालेले भने यस पटकको उपनिर्वाचनको परिणामलाई अनपेक्षित भनेको छ । तर पालिका अध्यक्ष र उपाध्यक्षमा विजयी भएका कारण केही उपलब्धि हासिल गरेको एमालेको भनाइ छ । जनतासँगको सम्बन्ध र जनताको कुरा सुन्ने पार्टीको शैलीमा विचार गर्नुपर्ने सन्देश उपनिर्वाचनको नतिजाले दिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनु भयो ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादीले केन्द्रले भने आफ्नो सरकारले भ्रष्टाचार विरुद्ध अघि सारेका अजेन्डा उपनिर्वाचनबाट अनुमोदित हुनुका साथै एक्लै चुनाव लड्ने जनादेश प्राप्त भएको दाबी गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले मंगलबार विज्ञप्ति जारी गर्दै आफूले अघि बढाउन खोजेको अभियान जनताले अनुमोदन गरेको पुष्टि भएको बताउनु भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.