बीआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री

मंसिर १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
बीआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिशिएटिभ (बीआरआई) बाट नेपालले लाभ लिने बताउनु भएको छ । पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दूरदर्शी नेतृत्वमा सुरू भएको बीआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताउनु भयो । प्रधानमन्त्री ओलीले पेकिङ जस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिन सक्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयका अध्यक्ष प्रा गोङ छिहुङले स्वागत गर्नु भएको थियो । कार्यक्रममा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि सहभागिता थियो । प्रधानमन्त्री ओलीले आजै उद्यमी-व्यवसायीहरूको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.