काठमाडौं । न्यायालयमा बिचौलियाको रजगज हुने गरेको र त्यसले न्यायिक प्रक्रिया मात्र नभएर न्याय नै प्रभावित पार्ने गरेकोबारे पटक-पटक बहस हुँदै आएको छ । तर रोक्ने कसले र कसरी तथा कहिले रोकिने यो बहसले कहिल्यै निर्क्यौल निकाल्न सकेको छैन । यसैबीच मंगलबार नेपाल बारकै कार्यक्रममा पुगेर प्रधानन्यायाधीशले नै न्यायालयमा बिचौलिया हावी रहेको कुरा पुन: दोहोर्याउनुभयो ।
सर्वोच्च अदालतले गरेका अध्ययन प्रतिवेदनहरुले न्यायालयमा बिचौलियाले चलखेल गर्ने गरेको निष्कर्ष निकालेका छन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले मंगलबार सर्वोच्च अदालत बार एसोसिएसनको कार्यक्रममा कानुन व्यवसायीको समिपमा रहेर बिचौलियाले काम गर्ने गरेको बताउनुभयो । उहाँको यो अभिव्यक्ति नेपाल बार र सर्वोच्च बारका पदाधिकारीलाई मञ्चमा राखेर आएको थियो ।
प्रधानन्यायाधीशले कानुन व्यवसायीसँग बिचौलियाले मिलेर काम गर्ने गरेको आरोप लगाउनु सामान्य कुरा होइन । अर्कोतर्फ न्यायालय भित्रको विकृतिको समाधान खोज्ने महत्वपूर्ण भुमिका पनि उहाँकै हो । बिचौलियाहरु कानुन व्यवसायीको समीपमा रहेर काम गर्ने हो भने त्यो न्यायालयसम्मै पक्कै पुग्छ ।
प्रधानन्यायाधीश राउतले न्यायालयको नेतृत्वकर्ताको हैसियतले यहाँको सम्पुर्ण जिम्मेवारी आफैंले लिने भन्दै गत कात्तिक २८ गते भएको कान्तिपुर कन्क्लेभमा प्रतिबद्धता पनि जनाउनुभएको थियो ।
अदालतमा बिचौलियाको रजगज रहेको बिषय पटक-पटक सर्वोच्चको नेतृत्व तहबाटै सार्वजनिक भइरहेको छ । सर्वोच्चको तत्कालिन वरिष्ठतम न्यायाधीश एवम् पूर्वप्रधानन्यायाधीस हरिकृष्ण कार्की नेतृत्वमा बनेको एवम् हालका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सदस्य रहेको समितिले सार्वजनिक गरेको प्रतिवेदनले पनि न्यायालयमा बिचौलिया रहेको निष्कर्ष निकालेको थियो । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथी महाअभियोग लागेपछि संसदिय समितिमा उहाँले सार्वजनिक रुपमा नामै तोकेरै हालका न्यायाधीस नै बिचौलिया भएको आरोप लगाउनुभएको थियो । न्यायालयमा बिचौलिया छन् भन्ने अध्ययनहरुले देखाए पनि त्यसलाई रोक्ने जिम्मेवारी कसको त ?
न्यायालय भित्र समस्या छ भन्ने कुरा पटकपटक पुष्टि भएकै विषय हो । अहिले प्रधानन्यायाधीले बार भित्र समस्या छ भन्नु भएको छ भने बारले अदालत भित्र समस्या देख्ने गरेको छ । समग्रमा जनताको न्यायको आकांक्षालाई मर्न नदिन र अदालतप्रतिको जनआस्था कायम राख्न न्यायालयभित्रका सबै सरोकारवाला विचौलिया विरुद्धको अभियानमा लाग्नै पर्छ ।