नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर

मंसिर १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच बेल्ट एन्ड रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ । बेइजिङमा नेपाल र चीनका उच्च अधिकारीहरुबीच दुई दिनसम्म भएको अनौपचारिक वार्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमका क्रममा बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।

अब नेपालले चीनले अघि बढाएको र सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसिइटिभलाई आधिकारिक रुपमा अघि बढाउने निश्चित भएको छ । ‘अनुदान’ शब्द राख्ने कि नराख्ने भन्ने विषयमा मत नमिलेपछि हिजो प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीचको द्विपक्षीय वार्तालगत्तै हुन नसकेको उक्त फ्रेमवर्कमाथि आज फेरि हस्ताक्षर भएको हो ।

नेपालले सुरुमा ‘ग्रान्ट फाइनान्सिङ कोअपरेसन मोडालिटी’ भन्ने उक्त फ्रेमवर्कको मस्यौदामा राखेको थियो । त्यसपछि चिनियाँ पक्षले ग्रान्ट शब्द हटाएर ‘असिन्टेन्ट फाइनासिङ मोडालिटी’ मात्रै राखेर मस्यौदा नेपाललाई फर्काएको थियो । तर अन्त्यमा नेपाली पक्षले ग्रान्ट वा असिन्टेन्टभन्दा पनि ‘एड असिन्टेन्स फाइनासिङ’ राखेर प्रस्ताव गरेकोमा त्यसैमा सहमति भएको बताइएको छ ।

यसअघि मंगलबार अबेर सार्वजनिक गरिएको १२ बुँदे संयुक्त वक्तव्यमा आपसी विकास र रणनीतिको समन्वयलाई थप मजबूत र बेल्ड एण्ड रोड परियोजनामा गहिरो सहकार्य गर्ने सहमति भएको जनाइएको थियो । दुवै देशले ट्रान्स हिमालयन बहुआयामिक सम्पर्क सञ्जाल निर्माण र बेल्ड एण्ड रोड फ्रेमवर्कमा सक्दो चाँडो समझदारीपत्रमा हस्ताक्षर गर्न तयार रहेको उल्लेख थियो ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको बेल्ट एण्ड रोड इनिसियटिभ्स-बीआरआईबाट नेपालले लाभ लिने बताउनुभएको छ। बेइजिङको पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको बीआरआई परियोजनाबाट दुई मुलुकको सम्बन्ध अझै गाढा हुने विश्वाश व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालका सबै राजनीतिक दल 'एक चीन सिद्धान्त' प्रति प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो ।

आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा उच्चस्तरीय भ्रमण आदानप्रदान भई पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने उहाँले बताउनुभयो । 

प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिनसक्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले आजै उद्यमी-व्यवसायीहरुको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । हिजै प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीचको द्विपक्षीय वार्तापछि ९ बुँदे सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.