क्लबको गर्विलो शाख फिर्ता ल्याउन आफू सक्षम रहेको म्यानचेस्टर युनाइटेडका नवनियुक्त प्रशिक्षक आमोरिमको दाबी

मंसिर ८, २०८१ |खेल ब्युरो
क्लबको गर्विलो शाख फिर्ता ल्याउन आफू सक्षम रहेको म्यानचेस्टर युनाइटेडका नवनियुक्त प्रशिक्षक आमोरिमको दाबी

काठमाडौं । म्यानचेस्टर युनाइटेडका नव नियुक्त प्रशिक्षक रुवेन आमोरिमले आफू क्लबका लागि सही व्यक्ति भएको बताउँदै योजनाहरु कार्यन्वयन गर्न केही समय लाग्ने बताएका छन् । आमोरिम पछिल्लो पटक सन् २०१३ मा प्रिमियर लिग उपाधि जितेयता क्लको छैटौ स्थायी प्रशिक्षक बन्न सक्ने अनुमान गरिएको छ ।

३९ वर्षीय आमोरिमले क्लबको गर्विलो शाख फिर्ता ल्याउन आफू सक्षम रहेको उल्लेख गरे । आफू सपना देख्ने व्यक्ति भएको भन्दै उनले क्लब र खेलाडीमाथि विश्वास भएको बताएका छन् । युनाइटेडको ट्रेनिङ सेन्टरमा पत्रकारको बाक्लो उपस्थितीमा आमोरिमले ओल्ड ट्राफोर्ड आएपछि भएपछि पहिलो पत्रकार सम्मेलन गरेका हुन् ।

एरिक टेन हाखलाइ बर्खास्त गर्दै युनाइटेडले गत नोभम्बर एघारमा उनलाई नियुक्त गरेको हो । युनाइटेडले आमोरिमको प्रशिक्षणमा भोली पहिलो खेल प्रिमियर लिगमा इपस्विच टाउनसँग प्रतिस्पर्धा गर्नेछ । हाल युनाइटेड ११ खेलबाट १५ अंक जोड्दै लिग तालिकाको १३ औं स्थानमा छ ।

अन्तर्राष्ट्रिय ब्रेकका कारण उनले नयाँ क्लबमा मात्र दुई ट्रेनिङ सेसन गरेका छन् । तर आमोरिमले समर्थकसँग युनाइटेडको फरक शैली देख्ने बाचा गरे । पत्रकार सम्मेलनमा नौ पोर्चुगिच पत्रकारको पनि उपस्थिती रहेको क्लबले जनाएको छ ।

उनीहरुले स्पोर्टिङका पूर्व प्रशिक्षकलाई बधाई तथा शुभकामना दिएका थिए । आमोरिमलाई सन् २००४ मा प्रिमियर लिग क्लब सम्हाल्ने पहिलो पोर्चुगिच प्रशिक्षक बनेका जोसे मेारिन्हो र आफू बीचको फरक पनि सोधिएको थियो । आमोरिमले सो बेला चेल्सिको नेतृत्व सम्हालेका मोरिन्हो र आफू भिन्न रहेको जवाफ दिए । आमोरिमले सन २०१९ मा स्पोर्टिङको घरेलु लिगमा १९ वर्ष देखीको उपाधि खडेरी तोडेका थिए ।