तेस्रो देशका नागरिकको अवैध आवतजावत रोक्न भारत र नेपालको संयुक्त टोली बनाउन प्रस्ताव गर्ने

मंसिर ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
तेस्रो देशका नागरिकको अवैध आवतजावत रोक्न भारत र नेपालको संयुक्त टोली बनाउन प्रस्ताव गर्ने

काठमाडौं । सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बल एसएसबीबीचको समन्वय बैठकले तेस्रो देशका नागरिकको अवैध आवतजावत रोक्न संयुक्त टोली बनाउन सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।

भारतकातर्फबाट बैठकमा सहभागी हुन आउनुभएका एसएसबीका महानिर्देशक अमृतमोहन प्रसादसहितको टोली र सशस्त्र प्रहरीबलका महानिर्देशक राजु अर्यालसहितको टोलीले सीमा सुरक्षाका बारेमा छलफल गरेको थियो । नेपालले तेस्रो देशका नागरिकको सहजआवतजावत नियन्त्रण गर्न भारतीय सुरक्षा बलले सहयोग गर्नुपर्ने प्रस्ताव गरेको थियो ।

भारततर्फबाट आउने तेस्रो देशका नागरिकको सहज आवतजावतले नेपालको सुरक्षामा चुनौती थपिएकाले कडाइ गरिदिन नेपालको आग्रह छ । त्यसका लागि सशस्त्र प्रहरी बल नेपाल र एसएसबीबीच संयुक्त टाक्स फोर्स बनाउनुपर्ने र त्यसका लागि दुवै देशको सरकारमा पहल गर्ने सहमति भएको हो । दुवै देशले नागरिक सहायता कक्षलाई पर्यटक सहायता राख्ने सहमति भएको छ ।

भारतको सीमा प्रयोग गरेर नेपाल प्रवेश गर्ने पर्यटक कहाँ जाने त्यसको जानकारी सिमानामै गराउने र त्यसलाई सशस्त्र प्रहरीले सहजीकरण गरिदिने बताइएको छ । नेपालबाट भारततर्फ जाने पर्यटकहरुको पनि एसएसबीले समन्वय गर्ने सहमति भएको हो । त्यस्तै एसएसबी र सशस्त्र प्रहरी बलले प्रतिआतंकवाद र प्राकृतिक विपत्ति सम्बन्धी संयुक्त अभ्यास गर्ने भएको छ । भारतले प्रतिआतंकवादसम्बन्धी र नेपालले आगलागी तथा जलको विपद्सम्बन्धी तालिमसँगै संयुक्त अभ्यास सुरु गर्ने सहमति पनि भएको हो ।

खुला सिमानाबाट गाँजा र चरेस भारततर्फ बढी गएकोमा भारतीय सिमा सुरक्षा बलका प्रमुखले चासो राखेका थिए । त्यसमा विगतको तुलनामा नियन्त्रण भएको जनाएको छ । त्यस्तै भारततर्फबाट औषधिजन्य लागुऔषध नियन्त्रण गर्न नेपालले आग्रह गरेको छ । हरेक वर्ष आलोपालो हुँदै आएको बैठक ६ महिनामा गर्ने निर्णय भएको छ । एसएसबीले नेपाल र भुटानसँगको सीमा सुरक्षा गर्दै आएको छ भने नेपालमा सशस्त्र प्रहरी बलले जिम्मेवारी लिएको छ । दुई देशको सीमा सुरक्षा प्रमुखबीच भएको यो ८ औं बैठक हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.