काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–नारायणगढ सडकको ठेक्का तोड्नुको विकल्प सरकारसँग नभएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले बिहीवार नारायणगढ–बुटवल सडकखण्ड क्षेत्रमा पर्ने जिल्लाका जनप्रतिनिधिहरुले निर्माण कार्यमा लापरबाही भएको विषयको ध्यानाकर्षण पत्र बुझ्दै यस्तो बताउनुभएको हो ।
रुपन्देही, पश्चिम नवलपरासी र पूर्वी नवलपरासीका जनप्रतिनिधिहरुले प्रधानमन्त्री ओलीसँगको भेटमा ध्यानाकर्षण गराएका हुन् । ध्यानाकर्षणपछि बोल्दै प्रधानमन्त्री ओलीले बुटवल–नारायणगढ सडक चार वर्षमा सक्नुपर्ने काम ६ वर्षसम्म लाग्दा पनि नसकिएको र अहिले काम ठप्प हुनु राम्रो नभएको बताउनु भयो ।
उहाँले ६ वर्षसम्म ५२ प्रतिशत काम बल्ल भएको बताउनु भयो । उहाँले सरकारले थप गरेको म्याद पनि एक वर्षमा सकिन लागेको भन्दै ५२ प्रतिशत काम ६ वर्षमा भयो भने अब ४८ प्रतिशत काम बाँकी एक वर्षभित्र सम्पन्न गर्न सम्भव नभएको उहाँको भनाइ छ ।
उहाँले सरकारसँग भएको सम्झौताअनुसार निर्माण कम्पनीले काम गर्न नसक्ने भए ठेक्का तोड्नुको विकल्प नभएकोसमेत बताउनु भयो ।
उहाँले डिसेम्बरसम्म निर्माण ठेक्का कम्पनीले मागेको समय दिएर त्यसपछि निर्णायक ढङ्गले कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, 'निर्माणको अहिलेको गतिमा काम अलपत्र छाड्ने हुने हो भने सरकारले भुक्तानी कसरी दिने अवस्था पनि हुन्छ । यदि निर्माण कम्पनीले काम गर्ने हो भने वा गर्दैन भने ठेक्का तोड्नुको अर्को विकल्प रहँदैन ।'