काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेता एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले जीवन पद्धति र आर्थिक जगमा स्थापित लोकतन्त्रले सामाजिक संरचनामै पनि परिवर्तन ल्याउन सक्ने बताउनुभएको छ । उहाँले अहिले सामाजिक न्यायमा आधारित लोकतन्त्रको खोजी भइरहेको बताउनुभयो ।
बुधबार कान्तिपुर मिडिया ग्रुपद्वारा काठमाडौंमा आयोजित कान्तिपुर कन्क्लेभ–२०२४ अन्तर्गत 'दोबाटोमा लोकतन्त्र' विषयक सत्रमा बोल्दै नेता झाँक्रीले सामाजिक न्यायमा आधारिक समृद्ध लोकतन्त्र विकासका लागि नेपाल चुकेको बताउनुभयो ।
लोकतन्त्रलाई फरक-फरक दृष्टिकोणले हेरिए पनि आफूहरू सामाजिक न्यायमा आधारित लोकतन्त्रको पक्षमा रहेको उहाँको भनाइ छ ।
'अहिले लोकतन्त्र भनेर मात्रै पुग्दैन, त्यहाँ सामाजिक न्यायको प्रत्याभूति छ कि छैन भन्ने प्रश्न हो । हामीले संसारभरिको अभ्यासलाई हेर्ने हो भने त्यहाँ पुरातनवादी सोच, पुँजीवादी दुनियाँ, फासिजमभित्र पनि लोकतन्त्र छ भनेर भन्ने गरिएको छ,' झाँक्रीले भन्नुभयो, 'यी सबै लोकतन्त्रभन्दा हामीले खोजेको लोकतन्त्र के हो ? भन्ने कुरा हो ।'
उहाँले थप्नुभयो, 'हामी समाजवादी लोकतन्त्रको कुरा गरिरहेका छौँ । हामीले चाहेको लोकतन्त्रभित्र त्यहाँ राज्य हुन्छ, नागरिक हुन्छन् र त्यहाँ निजी क्षेत्र हुन्छन् । त्यहाँ हामीले केही काम गर्न सक्छौं । र, सामाजिक न्यायलाई पनि प्रत्याभुत गर्न सक्छौं भन्न खोजेको हो ।'