काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लोकरिझ्याइँबाट राजनीतिमा आएकाहरू क्षणिक हुने बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'कान्तिपुर कन्क्लेभ-२०२४' अन्तर्गत 'दोबाटोमा लोकतन्त्र' विषयक सत्रमा बोल्दै भट्टराईले नेपालमा प्रतिस्पर्धा र सहकार्य गरेर अघि बढ्ने लोकतन्त्र आवश्यक रहेको बताउनुभयो ।
मुलुकमा तत्काल देखिएका समस्यालाई भजाएर भोट लिने पपुलिस्टको रणनीति हुने र त्यो धेरै नटिक्ने भट्टराईको भनाइ छ । माओवादी त्यागेर वैकल्पिक राजनीतिमा आफू लाग्नुको आधार पपुलिजम नरहेको पनि भट्टराईको दाबी छ ।
'लोकतन्त्रको प्रणाली प्रतिनिधिमूलक लोकतन्त्रलाई प्रत्यक्ष लोकतन्त्रमा लाने ढंगले वैकल्पिक शक्तिको परिकल्पना गरेको हो । यो विश्वव्यापी चेतना र नेपालको आवश्यकताको उपज हो, यो कसैको विरोधमा होइन । हिजोसम्मका उपलब्धिमा टेकेर जाने हाम्रो प्रयन्त हो, वैकल्पिक भनेको त्यो हो,' उहाँले भन्नुभयो ।
वैकल्पिक शक्ति पपुलिजम नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, 'वैकल्पिक भन्नेबित्तिकै पानीको फोकाजस्तो पपुलिस्ट भन्नुभयो, त्यस्तोमात्रै होइन । पपुलिजम भनेको जुन बहुआयामिक समस्या हुन्छ त्यसलाई बालसुलभ तरिकाले तत्काल मासलाई प्रभावित पार्ने, भोट सोहोर्ने, दायाँ र बाँयाबाट लाभ लिने ढंगले आउँछ, त्यो क्षणिक हुन्छ । वैकल्पिक शक्ति पपुलिजम होइन ।'
उहाँले थप्नुभयो, 'पपुलजिम भनेको त कुनै देशमा आप्रवासी समस्या बढी छ, त्यसलाई उछालिदिएर बढी भोट लिने, कुनै ठाउँमा बहुधार्मिक समाज छ भने बहुसंख्यकको पक्ष लिएर त्यसलाई आफ्नो रोटी सेक्ने, त्यस्तो प्रकारको दक्षिणपन्थ वा वामपन्थी पपुलिजम हुन्छ । हाम्रो सन्दर्भमा पनि केही साथीहरूले त्यसो गर्न खोज्नुहुन्छ ।'