स्थानीय तहको उपनिर्वाचन : दलहरुबीच जनमत परीक्षणको मौका

कार्तिक २१, २०८१ |अञ्जना लामिछाने
स्थानीय तहको उपनिर्वाचन : दलहरुबीच जनमत परीक्षणको मौका

काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि राजनीतिक दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् । अघिल्लो निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेका ठूला दलहरु यस पटक एक्लाएक्लै प्रतिस्पर्धा गर्ने तयारीमा छन् । सोही कारण यो उपनिर्वाचनलाई दलहरुको वास्तविक जनमत परीक्षणका रुपमा समेत हेरिएको छ ।

मंसिर १६ को स्थानीय तह उपनिर्वाचन आउन अब २५ दिन बाँकी छ । विभिन्न ४४ रिक्त पदका लागि हुन लागेको उपनिर्वाचनका लागि दलहरु उम्मेदवार घोषणामा जुटिसकेका छन् भने केही आन्तरिक छलफलमा छन् । सबैभन्दा महत्वका साथ हेरिएको काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखमा नेकपा एमालेले सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । 

एमालेले पालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटी र वडाका उम्मेदवार छनोट गर्न जिल्ला कमिटीलाई अधिकार दिएको छ । एमालेले हालसम्म ८ उम्मेदवारको नाम सिफारिस गरिसकेको छ । बिहीबारसम्म सबै नाम टुङ्गो लगाउने तयारी भइरहेको एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यले जनाउनु भयो ।

त्यसैगरी, नेपाली कांग्रेसले पनि उम्मेदवार तय गर्न गृहकार्य गरिरहेको छ । केही दिनभित्रै सबै ठाउँका उम्मेदवार तोक्ने तयारी कांग्रेसको छ ।

यता, माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकामा शिवशरण महर्जनलाई उठाउने निर्णय गरेको छ । अन्य स्थानमा पनि उम्मेदवार लगभग टुंगिसकेको माओवादी केन्द्रको भनाइ छ ।

पहिलो पटक स्थानीय तहको निर्वाचनमा सहभागी हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने अहिलेसम्म कुनै पनि उम्मेदवार घोषणा गरेको छैन । आफ्नो संगठन नबनेका स्थानीय तहमा अन्य दललाई सहयोग गर्ने तयारी रास्वपाको छ ।

महत्वका साथ हेरिएको कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिका १६ नम्बर वडामा यसअघि कांग्रेसले जितेको थियो । यी स्थानमा जित जोगाउने चुनौती कांग्रेसलाई छ । 

पहिलोपटक स्थानीय चुनावमा होमिन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि जितेर देखाउनु छ । साथै, यसपटक एक्लाएक्लै प्रतिस्पर्धा गर्न लागेका दलहरुका लागि यो उपचुनाव वास्तविक जनमत परीक्षणका रुपमा पनि हेरिएको छ । स्थानीय तहको उपनिर्वाचनमा भाग लिन २५ दल निर्वाचन आयोगमा दर्ता छन् ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।