काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी डिसेम्बरमा गर्ने चीनको औपचारिक भ्रमणको तयारी गर्ने जिम्मा परराष्ट्रमन्त्री आरजु राणालाई दिइएको छ ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री राणालाई जिम्मा दिइएको हो ।
यसैगरी, सत्ता गठबन्धन दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकारको काम प्रभावकारी बनाउन र साझेदार दलबीच आवश्यक समन्वय गर्न तीनै तहमा संयन्त्र बनाएका छन् ।
सत्ता साझेदार दल कांग्रेस र एमालेले संघ, प्रदेश र जिल्ला गरी तीनै तहमा संयन्त्र बनाएका हुन् । पाँच सदस्यीय संयन्त्रको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । संघीय संयन्त्रमा दुवै तर्फबाट पाँच–पाँच जना गरी १० जना रहेका छन् ।
संयन्त्रको कार्यदलले सत्तारुढ दलबीचको सम्बन्धलाई मजबुत बनाउनेदेखि सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा भूमिका खेल्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
संयन्त्रले सरकारको कामलाई सहजीकरण गर्नेछ भने दुई पार्टीबीच असमझदारी देखिए समाधान गर्नेछ । संघीय संयन्त्रको कार्यदलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा रहनुभएको छ ।
त्यसैगरी, कार्यदलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहनुभएको छ ।
प्रदेश र जिल्ला संयन्त्रमा भने तीन सदस्य रहनेछन् । प्रदेश संयन्त्र कार्यदलमा एमालेका तर्फबाट प्रदेश इन्चार्ज, पार्टी प्रदेश कमिटी अध्यक्ष र प्रदेश सभाका संसदीय दलका नेता रहनेछन् ।
त्यसैगरी, जिल्ला संयन्त्र कार्यदलमा एमालेका तर्फबाट जिल्ला इन्चार्जसहित, जिल्ला अध्यक्ष र सचिव रहनेछन् । कांग्रेसले भने प्रदेश र जिल्लाको संयन्त्रमा रहने सदस्यहरुको नाम टुंगो लगाएको छैन । कांग्रेस र एमाले गठबन्धन सरकार गठन भएको झन्डै चार महिनापछि तीनै तहमा संयन्त्र गठन गरिएको हो ।