काठमाडौं । छठ सकिए लगत्तै अखिल नेपाल फुटबल संघ एन्फाले महिला लिग अन्तर्गत सुपर लिगका खेलहरु सञ्चालन गर्ने तयारी थालेको छ । लिगको पहिलो चरणमा विभागीय टिमहरुको वर्चस्व रह्यो । आर्मी, एपीएफ र पुलिसलाई विभाग बाहिरका कुनै टिमले हराउन सकेनन् । कोशी प्रदेश र वालिङ नगरपालिकाले सिमित स्रोत-साधनका बाबजुद उत्कृष्ट प्रदर्शन गरे र शीर्ष पाँचमा स्थान बनाए ।
एन्फा महिला लिगको पहिलो चरणमा कुल ४५ खेल हुँदा विभागीय टिम एपीएफ पहिलो, आर्मी दोस्रो र पुलिस क्लब तेस्रो स्थानमा रहेर सुपर लिगमा प्रवेश पाएका छन् ।
लिगभरि ५३ गोल गरेको एपीएफले ९ खेलमा २ गोलको मात्र सामना गर्यो । एपीएफको टिमबाट रश्मीकुमारी घिसिङले १८ गोल गरिन् ।
आर्मीलाई दोस्रो स्थानसम्म पुर्याउन फरवार्डहरु अमिषा कार्की, दिपा शाही र चन्द्रा भण्डारीको 'ट्रियो' निकै उत्कृष्ट रह्यो । नेपालमा उत्कृष्ट प्रदर्शन गरे विदेशमा खेल्न पाउनेमा खेलाडीसमेत आशावादी छन् । यसैकारण अब हुने सुपर लिगका लागि अझै राम्रो तयारी गर्नुपर्ने प्रशिक्षक र खेलाडी बताउँछन्।
विभागीय टिमले मात्र होइन यो वर्ष बाहिरका टिमको प्रदर्शन पनि प्रशंसनीय रह्यो । चन्द्रपुर नगरपालिकाको टिमले एउटा खेलमा पुलिसलाई बराबरीमा रोकेको थियो । तर, चन्द्रपुर सुपर लिगमा छनोट हुन सकेन । सुपर लिगमा छनोट भएका कोशी प्रदेश र वालिङ नगरपालिका दुवैले खेलाडीलाई बन्द प्रशिक्षणमा राखेनन् । डबल राउन्ड रोविन शैलीमा हुने भनिएको सुपर लिगमा भने यी टोलीले प्रशिक्षणका साथै उत्कृष्ट नयाँ खेलाडी थप गरेर लिगमा फर्किने तयारी गरिरहेका छन् ।
महिला लिग लगातार भएमा मात्र प्रतियोगिता आयोजनाले सार्थकता पाउँछ। त्यसमाथि कृत्रिम मैदानमा एक महिनामै ४५ खेल आयोजना गर्दा खेलाडीलाई चोट लाग्ने गरेको छ । त्यसैले सहभागी टिमहरुको निरन्तर अभ्यासका लागि अखिल नेपाल फुटबल संघले उपयुक्त व्यवस्था गर्न सके मात्र नेपाली महिला फुटबल विकासको बाटोमा अघि बढ्नेछ ।