विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीला बल्लभ अधिकारीले पदबाट राजीनामा दिनु भएको छ । प्रदेश सरकार, संघीय सरकार र मुख्यमन्त्रीलाई समेत जानकारी नगराइ जापान गएपछि आलोचित बन्नुभएका मन्त्री अधिकारीले आफ्नो पदबाट राजीनामा दिनु भएको हो ।
जापान भ्रमणका विषयमा आफूप्रति नकारात्मक टिकाटिप्पणी भएको अवस्थामा पदमा बसिरहन उपयुक्त नलागेकोले राजीनामा दिएको अधिकारीले बताउनु भएको छ । आफूमाथि लागेको आरोप र टिप्पणीका विषयमा अध्ययन अनुसन्धान र छानबिन गर्न सहज होस् भन्ने हेतुले पदबाट राजीनामा दिएको मन्त्री अधिकारीको भनाइ छ ।
निजी भ्रमणको सिलसिलामा आफू कात्तिक १३ गते जापान गएको र कात्तिक १७ गते स्वदेश फर्किएको मन्त्री अधिकारीले जानकारी दिनुभयो । तिहारको बिदा परेका कारण आफूले प्रदेश सरकार र संघीय सरकारसँग अनुमति लिन नभ्याएको मन्त्री अधिकारीको स्पष्टोक्ति छ ।