राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने विषयमा कुरा नमिलेपछि मन्त्रिपरिषद्को बैठक स्थगित

अध्यादेश ल्याउन कांग्रेसको शेखर कोइराला समूहले मानेन
कार्तिक ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने विषयमा कुरा नमिलेपछि मन्त्रिपरिषद्को बैठक स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने विषयमा कुरा नमिलेपछि मन्त्रिपरिषद् बैठक अन्तिम समयमा आएर स्ठगित गरिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाइएको भए पनि अध्यादेश जारी गर्ने विषयमा कांग्रेस र एमालेबीच कुरा नमिल्दा अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले आज मन्त्रिपरिषद्को बैठक बोलाइएको सार्वजनिक गरेको भए पनि कतिपय मन्त्री भने बैठकबारे नै अन्योलमा थिए । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच दल विभाजन गर्ने राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन सहमति भए पनि कांग्रेसको शेखर कोइराला समूह राजी नभएपछि अध्यादेश ल्याउने विषय पर धकेल्लिएको एमालेका एक मन्त्रीले जानकारी दिए ।

कांग्रेसको कोइराला समूहले अध्यादेशको विरोधमा उत्रने चेतावनी दिएपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद् बैठक नै रोक्न बाध्य हुनुभएको हो । तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कमिटी वा संघीय संसद्को २० प्रतिशत संख्या भए नयाँ पार्टी गठन गर्न सकिने गरी ल्याएको अध्यादेश नै अहिले ल्याउने तयारी प्रधानमन्त्री ओलीको थियो ।

देउवाले ल्याउनुभएको अध्यादेशलाई नै टेकेर एमालेबाट माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टी गठन गर्नुभएको थियो । अहिले त्यही समाजवादी पार्टी विभाजन गर्न कै लागि अध्यादेश ल्याउने तयारीमा प्रधानमन्त्री ओली रहनुभएको छ । तर सत्तासाझेदार दल कांग्रेस र एमालेभित्र सर्वसहमति नहुँदा अध्यादेश केही समय रोकिएको कांग्रेसका एक नेताले बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.