अष्ट्रेलिया । अष्ट्रेलियन सरकारले मिनिस्टेरियल डिरेक्सन १११ जारी गरेको छ । २ लाख ७० हजार मात्र विद्यार्थी भित्र्याउने क्याप सिस्टम अर्थात कोटा प्रणाली विधेयक पारित हुन नसकेपछि कोटा प्रणालीलाई नै निरन्तरता दिने गरी मिनिस्टेरियल डिरेक्सन १११ जारी गरेको हो । यसले साना कलेजहरुले पाएको कोटाको ८० प्रतिशत विद्यार्थीको भिसा प्रक्रिया चाँडो टुँगो लगाउने छ । तर चर्चामा आएजस्तो अष्ट्रेलियामा विद्यार्थी भिसा खुकुलो हुनेमा भने कुनै सत्यता छैन ।
अष्ट्रेलियन संसदबाट विधयेक पारित नभए पनि अल्बानिजी सरकारले कोटा प्रणालीकै झझल्को दिनेगरि मिनिस्टेरियल डिरेक्सन १११ ल्याएको हो । सबै शिक्षा प्रदायकहरुलाई समान व्यवहारका लागि सरकारले डिरेक्सन १११ ल्याएको दाबी गरेको छ । तर यसको प्रभाव थाहा पाउन भने अझै केही महिना कुर्नुपर्ने छ । मिनिस्टेरियल डिरेक्सन १११ जारी भएपछि अस्ट्रेलिया सहज भयो भन्ने हल्लामा भने कुनै सत्यता नभएको अध्यागमन क्षेत्रका विज्ञ तथा अधिवक्ता सञ्जीव पाण्डे बताउनुहुन्छ ।
२ लाख ७० हजारको क्याप सिस्टम कोटा प्रणाली विधयेक संसदबाट पारित भएको भए त्यसको सबैभन्दा मार भेट कलेजहरुलाई पर्ने थियो । तर मिनिस्टेरियल डिरेक्सन १११ जारी भएपछि भेट कलेजहरुले पाएको कोटाको ८० प्रतिशत विद्यार्थीलाई प्राथमिकतामा रखेर भिसा प्रकृया छिटो टुँग्याउने उल्लेख छ । र यसको प्रभाव अस्ट्रेलिया बाहिर बसेर विद्यार्थीको भिसा आवेदन दिएका र नयाँ भिसा आवेदन दिनेहरुका लागि मात्र लागु हुने छ । अस्ट्रेलियामा बसेर भेट कलेजमा आवेदन दिनेहरुका हकमा भने यो नियम लागु नहुने रजिस्टर्ड माइग्रेसन कन्सल्ट्याण्ट मनिषा प्रधानले बताउनु भयो ।
अस्ट्रेलियाको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय विद्यार्थीको योगदान ४७ दशमलव ८ बिलियन डलर बराबरको छ । अहिले नेपालबाट मात्रै करिब ६४ हजार विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत छन् । तर पछिल्ला तथ्यांकहरुको तुलनागर्दा नेपालबाट मात्र नभएर विश्वभरबाट अस्ट्रेलियामा उच्च शिक्षा अध्यायन गर्न आउने विद्यार्थीको संख्या न्यून छ । सरकारको नीति कमाउने उदेश्यलेभन्दा पनि अध्ययन गर्न आउने विद्यार्थीलाई मात्र अस्ट्रेलिया भित्र्याउने देखिन्छ ।