काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेमाथि भएको कारबाहीलाई राजनीतिक प्रतिशोध भन्दै सरकारविरुद्ध दोस्रो चरणको संयुक्त आन्दोलन गर्ने निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय मुद्दाहरुमा केन्द्रित रही दोस्रो चरणको आन्दोलन गर्ने र त्यसमा सहभागिताका लागि नागरिकहरुलाई आह्वान गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले एक महिनाभित्र पार्टीका स्थानीय तह संरचनाले आफ्नो क्षेत्रको सहकारी नियमनको अवस्था यकिन गरी कार्ययोजना बनाएर पीडितको रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रमको अगुवाइ गर्न निर्णय गरेको छ ।
सभापति लामिछानेलाई हिरासतमा राख्नु रास्वपाको जनसमर्थन दबाउने षड्यन्त्र भएको बैठकको निष्कर्ष छ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका सन्दर्भमा भ्रष्टाचारविरुद्ध आम जनतामा जागृति फैलाउने अभियान सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यसैबीच सभापति लामिछाने पक्राउ परेको लामो समय बितिसक्दा पनि पार्टीले ठोस निर्णय लिन नसकेको भन्दै पार्टीका कार्यकर्ताहरुले आज वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक चलिरहेका बेला धर्ना दिएका छन् । उनीहरुले आफ्नै नेताहरुलाई 'नो नट अगेन भन्ने दिन नआओस्', भन्ने नारासहितका प्लेकार्ड प्रदर्शन गरेर विरोध गरेका थिए ।