काठमाडौं । सहकारीको रकम ठगीको आरोप लागेपछि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि छानबिन गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले कांग्रेस सांसद गुरुङ्ले ललितपुरको मितेरी सहकारीको निक्षेप हिनामिना गरेको आरोप लगाएपछि संसद तातिएको छ ।
आफूले सम्धन्धविच्छेद गरिसकेकी श्रीमतिसँग नाम जोडेर लगाइएको आरोप निराधार रहेको गुरुङको तर्क छ । तर सहकारी ठगीका विषयमा संसदीय छानबिन समितिको माग गर्ने कांग्रेसले गुरुङलाई जोगाइएको भन्दै आपत्ति जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेसका उपसभापति समेत रहेका सांसद धनराज गुरुङमाथि सहकारीको बचत ठगीको विषयमा छानबिन हुनुपर्ने माग चर्काएको छ । प्रतिनिधिसभाको हिजो र आजको बैठकमा रास्वपाका सांसदहरुले गुरुङ र उहाँकी श्रीमती ज्योति गुरुङले सहकारीको निक्षेप ठगी गरेको आरोप लगाउँदै छानबिनको माग गर्नुभएको थियो ।
सहकारीको रकम अपचलनका विषयमा यसअघि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कांग्रेस सांसदविरूद्ध नै सहकारी बचत रकम ठगीको उजुरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा परेको भन्दै छानबिन गर्न माग गरेका थिए ।
सांसद गुरुङ्ले भने सहकारी छानबिन विशेष समितिको प्रतिवेदन आउन लागेका बेला विषयान्तरका लागि आफूलाई आरोपित गरिएको जवाफ दिनुभएको छ । आफू जुनसुकै तहको छानबिन र अनुसन्धानमा सहयोग गर्न तयार रहेको गुरुङको भनाइ छ ।
सांसद गुरुङले २०७६ फागुन २९ गते आफू र श्रीमतीबीच सम्बन्धविच्छेद भइसकेको उल्लेख गर्दै नक्कली सम्बन्धविच्छेद भए प्रमाणित गरेर देखाउन चुनौती पनि दिनुभयो । सत्तारुढ दल कांग्रेसका सांसदहरुले भने गुरुङलाई फसाउने नियतले विषय उठाएको प्रतिक्रिया दिएका छन् ।
मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरूङले आफ्नो संस्थाको करिब १५ करोड रकम धनराज गुरूङ र ज्योति गुरूङले ठगी गरेको दाबीसहित छानबिन समितिमा बयान दिएको कुरा बाहिर आएपछि यो विषयले संसदमा तरंग पैदा गरेको हो ।