कांग्रेसका ४ मन्त्रीले शपथ लिएसँगै कर्णाली सरकारले पूर्णता पायो

मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने
श्रावण २०, २०८१ |कमल पन्त
कांग्रेसका ४ मन्त्रीले शपथ लिएसँगै कर्णाली सरकारले पूर्णता पायो

सुर्खेत । नेपाली कांग्रेसबाट सहभागी चार जना मन्त्रीलाई मुख्यमन्त्री यामलाल कँडेलले नियुक्त गरेसँगै कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । चारै जना मन्त्रीलाई आजै प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपानीयताको शपथ गराउनु भयो । 

कर्णाली सरकारबाट माओवादी बहिरिएपछि मुख्यमन्त्री कँडेलले रिक्त रहेका मन्त्रालयमा कांग्रेसका ४ जना सांसदलाई नियुक्त गर्नु भएको हो ।  माओवादी केन्द्रले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । आज प्रदेश प्रमुख जोशीले आर्थिक मामिला तथा योजना मन्त्रलायमा जाजरकोटका राजिवविक्रम शाह; सामाजिक विकास मन्त्रालयमा दैलेखका घनश्याम भण्डारी; पर्यटन, उद्योग, वन तथा वातावरण मान्त्रालयमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा उर्जा मन्त्रलायमा हुम्लाका विजया बुढालाई मन्त्रीको शपथ गराउनु भएको हो । 

यसअघि, नेकपा एमालेबाट मुख्यमन्त्रीसहित एक राज्यमन्त्री र दुई मन्त्री गरी चार जना सरकारमा सहभागी भइसकेका छन् । एमालेबाट मुख्यमन्त्री कँडेलसहित भौतिक पूर्वाधारमन्त्रीमा शेरबहादुर बुढा, राज्यमन्त्रीमा गमाता विक र कृषिमन्त्रीमा विनोद शाह नियुक्त भइसकेका छन् । 

मुख्यमन्त्री कँडेलले भोलि सोमबार बस्ने प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने तयारी छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसबाट १४, माओवादी केन्द्रबाट १३, नेकपा एमालेबाट १०, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १, एकीकृत समाजवादीबाट १ र स्वतन्त्र १ सांसद छन् ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।