राष्ट्रपतिबाट आममाफी पाएका अरुण चौधरी राज्यमन्त्री नियुक्त

श्रावण १८, २०८१ |टेकराज जोशी
राष्ट्रपतिबाट आममाफी पाएका अरुण चौधरी राज्यमन्त्री नियुक्त

कैलाली । २०७९ साल फागुन ७ मा कैलाली कारागारबाट रिहा भएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी राज्यमन्त्रीमा नियुक्त हुनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७९ मंसिरको चुनावमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली-२ मा निर्वाचित चौधरीलाई आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको राज्यमन्त्री नियुक्त गर्नु भएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा चौधरीको भुक्तान हुन बाँकी कैद सजाय मिनाहा गर्नु भएको थियो ।

२०६६ साल भदौ ३ गते साँझ बन्द अवज्ञा गरेको भन्दै कैलाली लम्कीका महादेव बजगाईंको लु २ त २११ नम्बरको ट्याक्टरका चालकलाई कुटपिट गरी आगजनी भएको थियो । घटनापछि गाडी धनी बजगाईंले अरुण चौधरी, उँहाका दाजु पर्शुराम चौधरी र वीरबहादुर चौधरीसहितका नाममा ८ लाख ७५ हजारको बिगो दाबीसहित मुद्दा दायर गर्नु भएको थियो ।

तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले ९ वैशाख ०७० मा गरेको फैसलामा तीनै जनालाई ६ महिना कैद सजाय र ८ लाख १९ हजार ४ सय २३ रुपैयाँ बिगो असुल्ने फैसला सुनाएको थियो । जिल्ला अदालतबाट दोषी ठहर भएको ९ वर्षपछि २०७९ माघ १८ गते सांसद चौधरीलाई बाँकेबाट पक्राउ गरिएको थियो । माघ १९ गते जिल्ला अदालत कैलालीले ६ महिनासम्म कारागारमा राख्ने गरी कैद पुर्जी दिएर चौधरीलाई जेल पठाएको थियो । २०७९ साल फागुन ७ मा चौधरीको सजाय राष्ट्रपतिबाट मिनाहा भएको थियो ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement