नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीद्वारा पदबाट राजीनामा

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीद्वारा पदबाट राजीनामा

काठमाडौं । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले पदबाट राजीनामा दिनुभएको छ । एमालेले संसदीय दलका नेताको साटो उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्तका लागि सिफारिस गरेपछि उहाँ असन्तुष्ट बन्नुभएको हो ।

गिरीले हिजो नै पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा पठाउनुभएको थियो । तर, सरकार गठनमा सघाउने र पार्टीभित्रको विवादलाई बाहिर नल्याउने भन्दै मुख्यमन्त्री आचार्यले सपथ लिएपछि आज मात्रै राजीनामा दिएको सार्वजनिक गर्नुभएको हो ।

विधि र प्रक्रिया मिचिएपछि जिम्मेवारी अनुसारको पदमा बस्न उचित नलागेर राजीनामा दिएको उहाँको भनाइ छ । यद्यपि राजीनामा स्वीकृत भएको जानकारी अहिलेसम्म नआएको उहाँले बताउनुभयो । 

एमाले महासचिव शंकर पोखरेलले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेललाई फोन गरेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्तका लागि सिफारिस गर्न निर्देशन दिनुभएको थियो । मुख्यमन्त्री नियुक्तिबारे पार्टीको कुनै कमिटी बैठकबाट निर्णय नगरी सिधै केन्द्रको निर्देशन आएको भन्दै एमालेमा असन्तुष्टि देखिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.