बिचौलियाले बनाएको सरकार हो, बिचौलियाकै लागि काम गर्छ : दाहाल

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
बिचौलियाले बनाएको सरकार हो, बिचौलियाकै लागि काम गर्छ : दाहाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सत्ता समीकरण बिचौलियाहरुको बलमा बनेको आरोप लगाउनु भएको छ । उहाँले पटक-पटक संसद विघटन गरेको व्यक्ति सरकार प्रमुख हुँदा धेरै आंशका जन्मिएको बताउनुभएको छ ।

नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ११औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले भ्रष्टाचारको फाइल खुल्ने डरले दुई ठूला दल एक ठाउँमा उभिएर आफ्नो नेतृत्वको सरकार ढालेको आरोप लगाउनुभयो । उहाँले जनताको आवाज बुलन्द गर्ने संसद विघटन गर्ने मानिसले जनचाहनाको सम्मान गर्न नसक्ने बताउनुभयो । उहाँले आफूहरु सरकारबाट बेदाग बाहिरिएको र कुनै भ्रष्टाचारमा नमुछिएको दाबी गर्नुभयो । 

दाहालले कांग्रेस–एमालेको गठबन्धन र सरकार षड्यन्त्रमूलक तथा अपारदर्शी ढङ्गले बनेको टिप्पणी गर्नुभयो । आफ्नो सरकारले सुशासनको काम अघि बढाएकाले र अन्तिम समयमा दुई जना पक्राउ परेको घटनाकै कारण बिचौलियाहरुले सत्ता समीकरण नै फेरिदिएको उहाँको आरोप छ । उहाँले भन्नुभयो, 'यो बिचौलियाले बनाएको सरकार हो, बिचौलियाकै लागि काम गर्छ ।'

उहाँले अब पार्टीलाई जनताका मुद्दा बोकेर जनतामा जाने अवसर प्राप्त भएको पनि बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कर्माचार्यको निष्ठा र समर्पणले देश र जनताका पक्षमा लागिरहन नेता कार्यकर्तालाई प्रेरणा दिने पनि उहाँले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.